दीर्घरोगीहरुसँग सकेसम्म घुलमिल नहुन डाक्टरको आग्रह

काठमाण्डौं, ३ भदौ । कोरोना भाइरसले पाको उमेरका व्यक्ति र दीर्घ रोगीलाई बढी असर गर्ने भएकाले त्यस्ता व्यक्तिहरुसँग अनावश्यक घुलमिल नगर्न चिकित्सकले आग्रह गरेका छन् ।
मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डाक्टर अनिल भटराईले मुटुरोग, मधुमेह, क्यान्सर लगायतका दीर्घरोगी र वृद्धहरुहरुमा कोरोनाको उच्च जोखिम हुने भएकाले सावधानी अपनाउनुपर्ने बताए ।
उनका अनुसार सक्रिय रहने उमेर समूहका मानिसले कोरोनाको सङ्क्रमण फैलाउन बढी भूमिका खेलेको पाइएको छ । आफूमा लक्षण नदेखिए पनि अरुमा कोरोना सर्छ भन्ने कुरामा सबै सजग हुनुपर्ने डाक्टर भट्टराईको भनाई छ ।
यस्तै उनले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीहरुका लागि कम्तीमा तीन/चार महिनालाई पुग्ने औषधि घरमा ल्याइराख्न र नियमित औषधिको प्रयोग गर्न आग्रह गरे । यदि केही समस्या परे फोनमार्फत नै डाक्टरसँग सुझाव लिएर औषधि खान सुझाव दिएका छन् । उनले कोरोना सङ्क्रमणबाट बच्न पोषणयुक्त खानपानमा पनि ध्यान दिन आग्रह गरेका छन् ।