नागार्जुन नगरपालिकाको दुई वडामा अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाण्डौ, १ भदौ । काठमाण्डौको नागार्जुन नगरपालिकाले कोरोनाको उच्च जोखिमयुक्त क्षेत्र भन्दै वडा नम्बर ९ र १० मा अत्यावश्यक बाहेकका सेवा नदिने निर्णय गरेको छ ।
मङ्गलबारदेखि अर्को सूचना नआएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले सोमबार विज्ञप्ति निकालेर जाँडरक्सीको पसल, ब्युटिपार्लर, सैलुन, ठेलागाडा पसल, खेलकुदका कार्यक्रम गर्न नपाइने जनाएको छ ।
साथै मर्निङ वाक, मठ मन्दिर जान र सार्वजनिक ठाउँमा भेला गर्न नपाइने जनाएको छ । यस्तै रेस्टुरेन्टबाट खाजा तथा खाना पनि प्याकिङ गरेर घर पठाउन पाइने तर त्यहीँ बसेर खान नपाइने विज्ञप्तिमा उल्लेख छ ।
अत्यावश्यक वस्तु खाद्यान्न, फलफुल, औषधिलगायतका पसल बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खोल्न पाइने छ । यस्तै यी वडामा नयाँ मानिसको प्रवेश भएको थाहा पाए जानकारी गराउन पनि नागार्जुन नगरपालिकाले आग्रह गरेको छ ।