एकैदिन अहिलेसम्मकै धेरै पीसीआर परीक्षण

काठमाण्डौं,३२ साउन । पछिल्लो २४ घण्टामा देशभर अहिलेसम्मकै धेरै पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४७ जनाको पीसीआर परीक्षण गरेको छ । त्यो परीक्षणमध्ये ६सय ४१ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
हाल ३८ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । स्वइच्छाले पीसीआर परीक्षणको अनुमति दिएपछि केही दिन यता स्वइच्छाले पीसीआर गराउनेहरुको संख्या पनि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारआवश्यक परे दैनिक २२ हजार जना सम्मको परीक्षण गर्न सक्ने क्षमता रहेको छ ।
परीक्षण गरिएकामध्ये १० देखि १२ प्रतिशतभन्दा बढीलाई पोजेटिभ देखियो भने परीक्षणको दायरा बढाउनु तथा निती बदल्नुपर्छ तर हालको पोजेटिभ दर ६ प्रतिशतभन्दा माथि गएको छैन गौतमले भने । कोरोना उपचार, रोकथाम तथा व्यवस्थापनलाई प्राथमिकतामा राखेर नै अगाडि बढिरहेको दाबी गरे । एक जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५ सय रुपैंया खर्च हुन्छ, प्राथमिकतामा परेकालाई सरकारले निशुल्क परीक्षण गरिरहेको छ।
देशभर साउन ३१ गते ११ हजार ४७ जनाको पीसीआर परीक्षण भएकोमा ४६८ जनामा कोरोना पुष्टि भएको थियो । साउन २९ गते ९ हजार ८५९, साउन २८ गते १० हजार ४८१, साउन २७ गते १० हजार ४६२, साउन २६ गते ८ हजार ४३२ र साउन २५ गते ८ हजार ५१५ जनाको पीसीआर परीक्षण गरेको थियो ।