सुदूरपश्चिमका कोरोना सङ्क्रमित गाउँ–गाउँ डुल्दै



Download our app to get more features

धनगढी, ३२ साउन । बैतडीको सुर्नया गाउँपालिका वडा नम्वर ७ का दुई जनालाई १४ दिन क्वारेन्टाइनमा राखेर कोरोना निको भएको भन्दै घर पठाइयो । कुनै लक्षण नदेखिएका र १४ दिन क्वारेन्टिनमा राखिएको भन्दै उनीहरुलाई घर पठाइएको थियो। तर निको भएका भनिएका उनीहरुमा फेरी कोरोना भाईरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले स्थानीय तहहरुले पठाएको थ्रोट स्वाबको नमूना परीक्षण गर्दा निको भएको भनी डिस्चार्ज गरिएका उनीहरुको रिर्पोट पोजेटिभ आएको बताए । ‘हामीले कोरोना पुष्टि भएकाहरुको पुनः परीक्षण गरेका छैनौ । स्थानीय तहले स्वाब संकलन गरी पठाएका रहेछन् । परीक्षण गर्दा पोजेटेभ आएछ ।’ उनले भने ।

सुदूरपश्चिममा कोरोना भाइरसका सङ्क्रमितहरुको पुनः परीक्षण बिना घर पठाईदा सङ्क्रमणको जोखिम झनै बढेको छ । नेपाल सरकारको मापदण्ड भन्दै प्रदेशमा लक्षण नदेखिएका सङ्क्रमितलाई धमाधम घर पठाईएपनि महिनौसम्म पुनः परीक्षण नगरिदा जोखिम झनै बढेको हो । सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयले त्यस्ता सङ्क्रमितलाई कोरोना मुत्त भएको सूचीमा राख्दै आएको छ ।

सेती प्रादेशिक अस्पतालका कोभिड–१९ विभाग प्रमुख डाक्टर शेरबहादुर  कमरले २१ दिन आइसोलेनमा बसेकाहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिन सक्ने बताए । तर २१ दिनपछि सङ्क्रमितबाट अन्य व्यक्तिमा कोरोना सर्ने सम्भावना नहुने उनले बताए ।

‘कोरोना सङ्क्रमितको परीक्षण गर्दा २१ दिनपछि पनि सङ्क्रमण देखिन सक्छ । तर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उनीहरुबाट अन्य व्यक्तिमा सर्दैन । त्यसै आधारमा १४ दिन आइसोलेन र सात दिन होम आइसोलेसनमा राखिएको हो ।’ उनी बताउँछन् ।

तर, उनीहरुसँग कोरोना मुक्त भएको प्रमाण भने छैन् । कोरोना भाइरस सङ्क्रमित पूर्ण रुपमा निको भए÷नभएको बारेमा अन्यौलता भएकाले समुदायका अन्यमा समेत सङ्क्रमण फैलिने जोखिम बढेको छ । सङ्क्रमितहरुलाई निको हुनेको सूचीमा राखेपछि उनीहरु गाउँमा डुल्ने थालेपछि समुदाय स्तरमा फैलिने खतरा बढेको हो । 

सुदूरपश्चिमका कुनै पनि जिल्लामा पछिल्लो केही समय यता सङ्क्रमितको पुनःपरीक्षण गरिएको छैन् । लक्षण देखिएका सङ्क्रमितलाई १४ दिन आइसोलेसनमा राखिएपछि घर पठाइएको छ भने लक्षण नभएका संक्रमितलाई घरमै बस्न भनिएको छ ।

सङ्क्रमितहरु पूर्ण रुपमा निको भए÷नभएको पुष्टि गरिएको छ्रैन् । स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बाजुरामा संक्रमितको परिवारका दुई सदस्यको मात्र नमूना परीक्षणका लागि पठाइएको बताए ।

तर सङ्क्रमिततहरुको पुनः परीक्षणका लागि स्वाब संकलन नगएिको उनले बताए । ‘सुरुमा २२ जनाको मात्र पुनःपरिक्षण भएको छ । अन्यको छैन । २१ दिन  आइसोलेनमा राखिएपछि उनीहरुलाई घर पठाइएको हो ।’ उनले भने । सुदूरपश्चिम प्रदेश सरकारले संक्रमणको १४ दिनपछि कोरोना भाइरसको सङ्क्रमण फैलिन नसक्ने भन्दै परीक्षण नगरिएको दावी गर्दै आएको छ ।

सुदूरपश्चिममा समेत विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार परीक्षण गरिएको दावी प्रदेश सरकारले गर्दै आएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गरिएको बताए ।

नेपाल सरकारको निर्देशन अनुसार नै सुदूरपश्चिममा कोरोनाको परीक्षण हुँदै आएको उनले जनाए । तर सुरुवातमा भने लगातार दुई पटक कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्ने कार्यविधि थियो ।

Last modified on 2020-08-16 15:01:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts