कोरोना संक्रमितको औषधि रेमडिसिभिर नेपाल ल्याउने सहमति

काठमाण्डौं,३१ साउन । कोरोना संक्रमितको उपचारमा सबैभन्दा प्रभावकारी मानिएको औषधि ‘रेमडिसिभिर’ नेपाल ल्याउनसहमति जुटेको छ । कानुनीबाटो अपनाएर रेमडिसिभिर नेपाल ल्याउन दिने बिषयमा सहमति जुटेको नेपाल चिकित्सक संघका प्रवक्ता डाक्टर बिश्वराज दवाडीले जानकारी दिएकाहुन ।
उनकाअनुसार शनिबार दिउँसो बसेको नेपाल मेडिकल काउन्सिल, नेपाल औषधि बिभाग, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, स्वास्थ्य मन्त्रालय, नेपाल चिकित्सक संघ लगायतका ७ वटा सँस्थाहरुको संयुक्त बैठकले कार्यविधि बनाएर रेमडिसिभिर नेपाल ल्याउने बिषयमा सहमति जुटेको हो।
यता, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरस (कोभिड – १९) संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीका लागि प्रयोग हुने भनिएको औषधि ‘रेमडिसिभिर’ क्लिनिकल ट्रायल अध्ययनका लागि आयात गर्न अनुमति दिन औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ । परिषद्को आज बसेको बोर्डको कार्यकारी बैठकको निर्णयपछि विभागलाई रेमडेसिभिर औषधि आयात अनुमतिका पत्राचार गरेको हो ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले यो विषयलाई छिटो टुंग्याउने बताएकाछन् । यसअघि विभागले इच्छुक कम्पनीको तर्फबाट भन्दै तीनवटा कम्पनी सिप्ला, माइलन र हिटेरो कम्पनीको नाम परिषदमा पठाएको थियो ।
परिषदले अरु पनि इच्छुक कम्पनीले मापदण्ड पुग्छ भने आयात गर्न अनुमति दिने कुरा भएको उनले बताए । यसअघि विभागमा करीब ८ वटा कम्पनीले आयात अनुमतिका लागि निवेदन दिएको जानकारी आएको छ ।
अमेरिका, भारत तथा अन्य कोरोना संक्रमित मुलुकहरुमा रेमडिसिभिर औषधि ट्रायलका लागि अनुमति दिइएको छ । नेपालमा विभागले अनुमति नदिएपछि कतिपय विरामीहरुले आफ्नै प्रयासमा अवैध रुपमा औषधि ल्याएर प्रयोगका लागि डाक्टरलाई उपलव्ध गराउँदै आएका थिए ।