नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको ध्यानाकर्षण

रुपन्देही, ३१ साउन । नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले कपिलवस्तु अस्पतालमा उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष डा इन्द्र ढकाल तथा महासचिव डा सन्तोष पोखरेलले एक विज्ञप्ती जारी गर्दै कपिलवस्तु अस्पतालमा चियाले जलेर उपचारका लागि ल्याइएकी एक बर्षीय बालिकाको निधनपछि चिकित्सकमाथि हातपात हुनु निन्दनीय भएको उल्लेख गरेका छन ।
विज्ञप्तीमा जिल्ला प्रशासनमा दिइएको निवेदनमाथि पनि तुरुन्त सुनुवाईको माग गरिएको छ । ‘घट्ना पश्चात जिल्ला प्रशासनमा अस्पताल प्रशासनले बुझाएको निवेदन उपर पनि छिट्टै कारवाही गर्ने आश्वासन पाए पनि एक हप्ता बितिसक्दा पनि कुनै कारवाही अगाडी नवढेकोमा हामी खेद प्रकट गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ,।
‘यस्ता किसिमका घट्नाले कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य सेवा प्रवाहमा असर पर्ने देखिन्छ ।’ संघले दोषीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न माग गरेको छ । ‘दोषीलाई तुरुन्त कानुनी दायरामा लिई कारवाही अघि बढाउन अञ्चल शाखा माग गर्दछ । अन्यथा अन्य गम्भीर कदम चाल्न संघ बाध्य हुनेछ,’ विज्ञप्तीमा भनिएको छ ।