चितवनमा पहिलो पटक निजी अस्पतालले सुरु गर्यो कोरोना संक्रमितको उपचार

चितवन, ३१ साउन । चितवनको एक निजी अस्पतालले समेत कोरोना संक्रमितको उपचार गर्न थालेको जनाएको छ ।
भरतपुर १० स्थित श्री पुष्पाञ्जली हस्पिटल प्रालि चितवनको पहिलो निजी अस्पताल हो जहाँ कोरोना संक्रमितको उपचार सुरु भएको छ ।
चितवनको रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय पुरुषको सोहि अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा उपचारकै क्रममा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षणको लागि पठाइएको थियो । उनीलाई साउन २७ गते स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पताल प्रशासनले शनिबार एक विज्ञप्ती जारी गर्दै साउन ३० गते स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन संचालन केन्द्रद्वारा प्रकाशित सूचना र निर्देशन अनुसार नै आफूहरूले कोरोना संक्रमितको उपचार गर्न लागिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय र कोरोना संक्रमितको उपचार गर्ने हव अस्पताल भरतपुर अस्पतालसँगको समन्वयमा बिरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ती बिरामीको दुईवटै फोक्सोमा ‘भाइरल निमोनिया’ सहित अहिले स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको छ । अहिले भेन्टिलेटरको आवश्यकता भने नदेखिएको अस्पतालले जनाएको छ ।
उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टिन र स्वास्थ्य सामग्रीको व्यवस्थापन भइसकेको अस्पतालले जनाएको छ । सघन उपचार कक्षको भवन छुट्टै रहेका छ । अन्य बिरामीलाई भने छुट्टै भवनबाट आवश्यक सतर्कता अपनाउँदै नियमित सेवाहरू यथावत् रूपमा सञ्चालनमा रहेको समेत अस्पतालले जनाएको छ । चितवनका निजी मेडिकल कलेज तथा अन्य अस्पतालले भने उपचाररत बिरामीमा संक्रमण देखिए भरतपुर अस्पतालमा पठाउने गरेका छन् । शुक्रवार चितवनमा ती बिरामी सहित थप आठ जनामा कोरोना संक्रमण देखिएको थियो । अन्य बिरामी भने भरतपुर अस्पताल र केहि होम क्वारेन्टिनमा छन् ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।