निजी अस्पताललाई कोरोना संक्रमित बिरामीका लागि २० प्रतिशत बेड छुट्याउन सरकारको निर्देशन

काठमाडौं, ३० साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी अस्पतालमा २० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन जारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मुलुकमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएकोले सबै निजी अस्पताललाई २० प्रतिशत बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याउन निर्देशन दिइएको बताए ।
उनले कोरोना संक्रमणको दर वृद्धिसँगै सरकारी अस्पतालमा बेड अभाव हुन थालेको हुनाले निजी अस्पताललाई कोरोना संक्रमित बिरामीका लागि बेड छुट्याउन भनिएको बताए ।
साथै कुनैपनि अस्पतालमा भर्ना भएका बिरामीमा यदि कोरोना संक्रमण पुष्टि भएको खण्डमा कोभिड अस्पतालमा रेफर गर्न भनिएपनि समस्या हुने भएकाले हब अस्पतालको संयोजनमा त्यसको व्यवस्थापन सोह िअस्पतालमा गर्न भनिएको डा गौतमले बताए ।
यस्तै उपत्यका भित्रका कुनैपनि अस्पतालमा प्रेषण गर्नुपर्ने अवस्था भएमा हब अस्पतालको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट निर्देशन प्राप्त गर्न भनिएको पनि उनले जानकारी गराए ।