लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना परीक्षणको रिर्पोट ३० मिनेटमै

रुपन्देही, ३० साउन । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोभिड–१९ को दु्रत परीक्षण सेवा शुरु भएको छ ।
आकस्मिक उपचारमा आउने बिरामीहरुलाई लक्षित गरि सो सेवा शुरु गरिएको अस्पतालले जनाएको छ । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले शुक्रवार उक्त मेशिनबाट आफ्नै स्वाब परीक्षण गरी सेवा शुभारम्भ गरेका हुन् ।
यो सेवा सुरु भएपछि अस्पतालमा आउने कोरोना भाईरससँग मिल्दोजुल्दो लक्षण भएका अन्य बिरामीको उपचार सहज बताए । चिकित्सकहरुमा कोरोना संक्रमण समेत कम हुने मन्त्री बरालको भनाइ छ ।
नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत उपलब्ध जिन एक्सपट मेशिनलाई अपडेट गरि अस्पतालमा एक्सपर्ट एक्सप्रेस कोभिड १९ को परीक्षण सेवा शुरु लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए । डा खनालले यो मेशिनबाट कोभिड १९ को संकास्पद बिरामीको रिर्पोट पोजिटिभ भए ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा नै उपलब्ध हुने बताए ।
सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम ब्यवस्थापक निम बहादुर सिहले यो विधि निक्कै प्रभावकारी र गुणस्तर भएको बताए । अस्पतालमा उपचारमा आउने आकस्मिक भर्ना भएका कोरोना भाईरसका मिल्दोजुल्दो लक्षण भएका क्षयरोगी तथा एचआईभी संक्रमितको परिक्षणमा प्राथमिकता दिईने बताए ।
अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले अस्पतालमा पहिले नै उपलब्ध ल्याबको सेवालाई बिस्तार गरिएको बताए । क्षयरोगीहरुको परिक्षण हुदै आएको जिन एक्सपट मेशिनको कार्टेजसंगै बायोसेफ्टी क्याबिनेट थप गरि कोभिड १९ को परिक्षण शुरु गरिएको उनले बताए । अस्पतालका कोभिड १९ फोकलप्रसन डा. सुदर्शन थापाले पछिल्लोसमय कोरोना भाइरसका जटिल र लक्षण देखिने बिरामी बढेको बताए ।
अस्पतालका बिआर टिभी क्लिनिङ ईन्चार्ज सत्यराज शाक्यले क्षयरोगी र एचआईभी संकमितलाई पहिलो प्राथमिकता राखेर सेवा दिईने बताए ।अमेरिकाले बनाएको यो मेशिन करीब ढाई महिना अघि विश्व स्वस्थ्य संगठनबाट मान्यता प्राप्त भएको थियो ।
एक घण्टामा ४ जनाको परिक्षण गर्न सकिने उनले बताए । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका ३ जना ल्याब टेक्नीसियनले उक्त कार्यमा खटिने भएको अस्पतालले जनाएको छ ।