कोरोना संक्रमित बढेसँगै भरतपुरमा भाेलिदेखि एक साता निषेधाज्ञा

चितवन, ३० साउन । चितवनमा दिनहुँजसो नयाँ संक्रमित बढेसँगै शनिवारदेखि भरतपुर महानगरपालिकामा एक साताका लागि निषेधाज्ञा जारी गरिने भएको छ । बिहीवार स्वास्थ्यकर्मी सहित चितवनका थप १२ जनामा काेराेना संक्रमण देखिएकाे थियाे ।
संक्रमण जोखिम बढ्दै गएपछि उच्च सतर्कता अपनाउदै शुक्रवार राति १२ बजेदेखि लागू हुने गरि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ, उद्योगी व्यवसायी र सराेकारवालाहरूबिच शुक्रवार भरतपुरमा भएकाे छलफलले साे निर्णय गरेकाे हाे ।
मंगलबार चितवनकाे प्रयाेगशालामा ३ सय १० नमूना परीक्षण गरिएकोमा चितवन सहित विभिन्न जिल्लाका गरि २१ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे थियाे । बुधवार चितवनमा २ सय ३ नमुना परीक्षण गरिएकाे मध्ये एक चिकित्सक र छ जना शसस्त्र प्रहरी काेराेना संक्रमण देखिएकाे थियाे । त्यस्तै बिहीवार स्वास्थ्यकर्मी सहित चितवनका थप १२ जनामा संक्रमण देखिएकाे थियाे ।
संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका सबै भन्दा धेरै छन् । त्यस्तै, जिल्लाकै एक मात्र गाउँपालिका इच्छाकामनामा अहिलेसम्म एक जनामा मात्र संक्रमण देखिएकाे छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।