भरतपुर अस्पतालकाे ईमर्जेन्सी कक्ष निर्मलीकरण हुँदै, साँझबाट सञ्चालन गर्ने तयारी

चितवन, ३० साउन । भरतपुर अस्पतालकाे ईमर्जेन्सी कक्ष सिल गरि निर्मलीकरण गर्ने काम भइरहेकाे छ ।
ईमर्जेन्सी कक्षमा कार्यरत एक जना नर्समा बिहीवार कोरोना संक्रमण पुष्टि भएकाे थियाे । त्यसपछि त्यहाँ सिल गरि निर्मलीकरण गर्ने काम भइरहेकाे अस्पताल विकास समितिका अध्यक्ष डा. भाेजराज अधिकारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । ‘अन्य व्यक्तिमा जाेखिम नहाेस् भन्नकाे लागि त्यस ठाउँमा सिल गरि पूर्ण रूपमा निर्मलीकरण गर्नु पर्ने हुन्छ ।’ उनले भने- ‘अहिले सरसफाइ तथा निर्मलीकरणकाे काम चलिरहेकाे छ ।’
आज साँझसम्म निर्मलीकरणकाे काम सकि त्यहीँबाट सेवा दिने याेजनामा आफुहरू रहेकाे उनले बताए । अहिले सेवा लिन आएका बिरामीलाई वहिरङ्ग कक्षबाट तथा अन्य वैकल्पिक स्थानबाट सेवा दिएकाे छ । उनले सकेसम्म कुनैपनि सेवा प्रभावित हुन नदिने प्रतिवद्वता व्यक्त गरे । अहिले काेराेना नियन्त्रण एवम् व्यवस्थापन तथा सेवालाई थप कसरी सञ्चालन गर्ने भन्ने बारे सराेकारवालासँग छलफल चलिरहेकाे उनले बताए । अस्पतालका नियमित सेवाहरू सञ्चालन मै रहेकाे समेत उनले जनाएका छन् ।
बिहीवार ईमर्जेन्सी कक्षमा कार्यरत ती नर्समा संक्रमण देखिएपछि साे विभागमा रहेका बिरामीलाई अन्य ठाउँमा सारिएकाे छ । त्यस्तै, त्यहाँ कार्यरत कर्मचारीलाई क्वारेन्टिनमा राखिएकाे छ ।
उता जेठ २६ गते साेमवार चितवनमा पहिलो पटक स्वास्थ्यकर्मीमा काेराेना संक्रमण देखिएकाे थियाे । त्यतिबेला दुई जना चिकित्सक र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । उनीहरू काेराेना संक्रमणमुक्त भईसकेका छन् । त्यसपछि यसबिचमा चितवनमा स्वास्थ्यकर्मीमा संक्रमण नदेखिएकाे भएपनि अहिले केही दिनयता भन्ने संक्रमण देखिन थालेकाे छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।