कोरोनाको उपचारमा रेम्डिसिभिर प्रयोग हुने : विभागले माग्यो आवेदन

काठमाण्डौं, २८ साउन । औषधि व्यवस्था विभागले कोरोना भाइरस संक्रमितको उपचारका लागि रेम्डिसिभिर औषधिको क्लिनिकल परीक्षण गर्न अस्पतालहरुलाई सहभागि हुन आव्हान गरेको छ ।
विभागले सूचना जारी गरि कोरोना संक्रमितको उपचारमा यो औषधि प्रयोग गर्नका लागि इच्छुक अस्पताललाई आवेदन दिन अपिल गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २६ गते रेम्डिसिभिर औषधि प्रयोगको लागि अध्ययन गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयले तोकेको अस्पतालले मात्रै रेम्डिसिभिर औषधिको प्रयोग गर्न पाउनेछन् । रेम्डिसिभिर सम्बन्धित चिकित्सकको सिफारिस तथा प्रत्यक्ष निगरानी र बिरामीको अनुमतिमा प्रयोग गर्न मिल्ने मन्त्रालयले जनाएको छ ।
कोरोनाका बिरामी बढ्दै गएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, कोभिड उपचार निर्देशिकाअनुसार र स्वास्थ्य प्रविधि मूल्यांकन समितिको सिफारिसमा मन्त्रालयले यो औषधिको प्रयोग गर्न प्रक्रियाका लागि अनुमति दिएको हो ।
भारत लगायतका देशमा यो औषधि गम्भिर किसिमका संक्रमितलाई प्रयोग भइरहेको छ र यसको नतिजा प्रभावकारी देखिएको छ ।