सुदूरपश्चिम सरकारले निर्णय गरेको चार महिनापछि धनगढीमा पिसिआर प्रयोगशाला स्थापना



Download our app to get more features


धनगढी, २७ साउन । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको चार महिनापछि धनगढीमा पिसिआर मेसिन जडान भएको  छ ।

गत चैत १५ गते बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले धनगढी सहित डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । चार महिनापछि प्रदेशको अस्थायी राजधानी धनगढीमा पिसिआर मेसिन जडान गर्दै प्रयोगशाला स्थापना गरिएको हो । 

प्रयोगशालाको मुख्यमन्त्री त्रिलोचन भट्टले उद्दघाटन गरेका छन् । सेती प्रादेशिक अस्पताल मातहत रहने गरी स्वास्थ्य कार्यालय कैलालीको भवनमा स्थापना गरिएको प्रयोगशालाको औपचारिक कार्यक्रमकाबीच मुख्यमन्त्री भट्टले उद्दघाटन गरेका हुन् ।

उद्दघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले अब दैनिक एक हजार दुर्ई सय बढिको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न सकिने बताउँदै चाडै परीक्षण थाल्न निर्देशन दिएका छन् । 

‘लकडाउनका बेला सुदूरपश्चिमका पाँच जनामा कोरोना देखियो। प्रेसर थियो। दोस्रो चरणमा पनि सुदूरपश्चिममा धेरै थिए। सुदूरपश्चिमबाटै देशभर कोरोना फैलिने भन्ने कुरा गरियो।’ उनले भने।

प्रदेश सरकारले चार महिनापछि निर्णय कार्यान्वयन गर्दै प्रयोगशाला स्थापना गरेका बेला धनगढी र डडेल्धुरामा गरी दुईवटा पीसीआर मेसिनबाट कोरोना परीक्षण भईरहेको छ।

धनगढीको पशुपन्छी अन्वेषण प्रयोगशालामा जडान गरिएको पीसीआर मेसिन संघिय सरकारले पठाएको हो भने डडेल्धुरा अस्पतालमा जनस्तरबाट अभियान थालेर मेसिन खरिद गरिएको थियो ।

सुरुमा सेती अस्पतालमा जडान गरिएको मेसिनबाट परीक्षण गरिएकोमा अहिले बन्द छ भने अब फेरी पुशपन्छी अन्वेषण प्रयोगशालाबाट कोरोना परीक्षण बन्द गर्दै स्वास्थ्य कार्यालयको भवनमा स्थापना गरिएको नयाँ प्रयोगशाला मार्फत कोरोना परीक्षणको तयारीमा प्रदेश सरकार छ ।

दैनिक एक हजार दुई सय बढिको परिक्षण गर्ने क्षमता प्रयोगशालाको छ । तर, १० जनाको मात्र जनशक्ति भएकाले एक हजार समेत सम्भव नभएको प्रयोगशाला इञ्चार्ज रमेश शाहीले बताए । ‘आवश्यक जनशक्तिको व्यवस्थापन भए मात्र दुवै प्रयोगशाला मार्फत दैनिक स्वाब परीक्षण गर्न सकिने छ ।’ शाहीले भने । 

डोटी र बैतडीमा समेत प्रयोगशाला स्थापनाको कार्य भईरहेको प्रदेश सरकारले जनाएको छ ।

सुदूरपश्चिम सरकारलाई युएनडिपीद्राद्वारा कोरोना परीक्षण गर्न आरएनए मेसिन हस्तान्तरण
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारलाई युएनडिपीले कोरोना परीक्षणलाई तीव्र बनाउन सघाउ पुगोस भन्ने उद्देश्यले आरएनए मेसिन हस्तान्तरण गरेको छ ।

परीक्षणको दायरा बढाउन अटोमेटिक आरएनए मेसिन हस्तान्तरण गरिएको युएनडिपी धनगढीकी प्रमुख बैजयन्ती सिहले बताईन् ।

उक्त मेसिन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरिएको हो।मेसिन प्रदेश सरकारले स्वास्थ्य कार्यालय कैलालीमा स्थापना गरेको प्रयोगशालाको उद्दघाटन कार्यक्रममै हस्तान्तरण गरिएको हो । 

उक्त मेसिनबाट तीन घण्टामा झण्डै एक सय जनाको भाईरस परीक्षण गर्न सकिने सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए ।

Last modified on 2020-08-11 14:52:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts