‘ट्राभल हिस्ट्री’ नभएकामा संक्रमण: के चितवनमा समुदायस्तरमै फैलिएकाे हाे त ‘काेराेना’?



Download our app to get more features

चितवन, २५ साउन । चितवनमा काेराेना संक्रमण समुदायस्तरमै पुगिसकेको हुनसक्ने आशङ्का गर्न थालिएको छ ।

यसअघि संक्रमण देखिनेहरू अधिकांश विदेशबाट फर्किएकाहरु थिए । केही दिनयता कहींकतै भ्रमण नै नगरेकाहरुमा भटाभट संक्रमण देखिन थालेपछि चिकित्सकहरूले यस्तो आंकलन गर्न थालेका हुन ।

शनिवार भरतपुर महानगरपालिका–१, नारायणगढका ६ वर्षीय बालकमा संक्रमण देखिएसँगै एकै परिवारका चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । संक्रमित हुनेमा साेहि परिवारका ७९ वर्षीय वृद्व पनि छन् । त्यस्तै भरतपुर महानगरपालिका वडा नं. ४, १० र १५ का २० देखि ४८ वर्ष उमेर समूहका चार जना पुरुष र एक जना महिला रहेका छन् ।

सङ्क्रमित हुनेहरूमा प्रहरी, थुनुवा, राष्ट्रिय वाणिज्य बैंक भरतपुरमा कार्यरत कर्मचारी, अस्पतालमा उपचाररत बिरामी र हाेम क्वारेन्टिनमा रहेकाहरू छन् । जसकाे कुनै ‘ट्राभल हिस्ट्री’ छैन । संक्रमण कहाँबाट भएकाे हाे भन्ने पत्ता लाग्न सकेकाे छैन । यसले चितवनमा संक्रमण समुदायस्तरमै पुगिसकेको हुनसक्ने चिकित्सकहरूकाे भनाइ छ । सचेत रहन सर्वसाधारणमा उनीहरूले अनुराेध समेत गरेका छन् ।

यता जेठ २६ गते चितवनमा पहिलो पटक चिकित्सक र नर्समा काेराेना संक्रमण देखिएकाे थियाे । त्यतिबेला दुई जना चिकित्सक र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । उनीहरू काेराेना संक्रमणमुक्त भईसकेका छन् । उनीहरू कहाँबाट कसरी सङ्क्रमित भए भन्ने यकिन गर्न सकिएकाे थिएन । त्यसपछि भने अहिलेसम्म चितवनमा कुनै पनि स्वास्थ्यकर्मीमा काेराेना संक्रमण देखिएकाे छैन ।

संक्रमितहरूकाे थप विवरण लिने कार्य भइरहेकाे स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए । उनीहरूकाे धेरै जनासँग सम्पर्क भएकाे खबर पाएकाे उनले बताए । संक्रमितहरूकाे सम्पर्कमा आएकाहरूलाई हाेम क्वारेन्टिनमा रहन, स्वास्थ्य सुरक्षाका उपाय अपनाउन र स्वास्थ्यकर्मीसँग आवश्यक सल्लाह लिन समेत आग्रह गरेका छन् । साथै परीक्षणकाे दायरालाई अब अझै फराकिलो बनाउने समेत उनले बताए ।

अहिले संक्रमित भेटिएका क्षेत्रमा उच्च सतर्कता अपनाउनुका साथै सिल समेत गरिएकाे छ ।

Last modified on 2020-08-09 07:05:21

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts