पालना गरेनन् सवारी साधनले स्वास्थ्य सुरक्षा मापदण्ड

काठमाडौं, साउन २४ । काठमाडौं उपत्यकामा सञ्चालित अधिकांश सवारी साधनहरुले कोभिड(१९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ।
लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ। तर अधिकांश सार्वजनिक सवारी साधनले स्यानिटाइजरसमेत प्रयोग नगरेको पाइएको हो।
यातायात व्यवस्था विभागले शुक्रबार अनुगमन गर्दा अधिकांश सवारी साधनमा स्यानिटाइजर नै थिएन। भएकाहरुमा पनि सानो बट्टा रहेको पाइएको विभागले जानकारी दिएको छ। यसबाट सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पालना नगरेको पुष्टि भएको हो।
अधिकांश सवारी साधनले स्यानिटाइजरको प्रयोग नगरेको पाइएको छ । मास्क प्रयोग गरेको भएपनि स्यानिटाइजरको प्रयोग नगर्ने र बसमा दुरी कायम नगरिकन यात्रुलाई राख्ने गरेको पाइयो। अनुगमनका क्रममा स्यानिटाइजर नै नराख्ने तीनवटा सवारी साधनलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
सार्वजनिक यातायातका साधनहरुले सुरक्षा मापदण्ड पालना नगरिदिंदा समुदाय स्तरसम्म कोरोना भाइरस संक्रमण फैलिने त्रास बढेको छ।
कतिपय सवारी साधनले सिट क्षमता भन्दा पनि बढी यात्रु राखेको पाइएको छ। त्यस्तै यात्रुले मास्कको प्रयोग नगरेको समेत पाइएको छ। विभागले भने स्यानिटाइजर नराख्ने सवारी साधनलाई समान्य चिट काटेर कारबाही गरेको छ।
सरकारले लकडाउनलाई खुकुलो बनाउदैं गत असार २६ गतेदेखि उपत्यका भित्र छोटो दुरीको सवारी साधन सञ्चालन गर्न दिएको थियो। यातायात सञ्चालन गर्दा भौतिक दुरी कायम गर्नुपर्ने, सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने, चालक र सहचालक सहित सबै यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने र सवारी सधानलाई निसंक्रमण गर्नुपर्ने मापदण्ड तयार गरिएको थियो।