कोरोना भाइरसको संक्रमणबाट आज थप पाँच जनाको मृत्यु



Download our app to get more features

काडमाण्डौं, साउन २३ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आज थप पाँच जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा २, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १÷१ जनाको मृत्यु भएको हो ।

पाटन अस्पतालको आईसीयूमा सर्लाहीका ४५ वर्षीय पुरुष र रुपन्देही सुनौलीकी ४१ वर्षीया महिलाको कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको हो ।

सर्लाहीका पुरुषलाई कुकुरले टोकेको थियो र, साउन १९ गते अस्पताल भर्ना भएका थिए । 

यस्तै रुपन्देही, सुनौलीकी महिला पनि साउन १९ गते नै अस्पताल भर्ना भएकी थिइन् । पाठेघरको क्यान्सर र निमोनियाको विरामी उनको उपचारका क्रममा  मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डां खगेश्वर गेलालले जानकारी दिए ।

सिराहाका युवकको धरानमा मृत्यु

सिराहाको गोलबजार नगरपालिका–१२ का २१ वर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको थियो ।

सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार मिर्गौला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका थिए । उनलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोशी अस्पतालमा एकजनाको मृत्यु

कोशी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत विराटनगर महानगरपालिका– ९ का ५८ वर्षका पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
आज  विहान मृत्यु भएका उनको दिउँसो कोरोना संक्रमण पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । एक सातादेखि ज्वरो र खोकीको समस्या देखिएको उनमा उच्च रक्तचापको समस्या पनि थियो ।

वीरगञ्जमा एकजनाको मृत्यु

वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा शुक्रबार विहान मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका वृद्धको मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

कोभिड अस्पतालको इमर्जेन्सी कक्षमा उपचारको क्रममा बिहान उनको मृत्यु भएको थियो । 

योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । कोरोना संक्रमणबाटै वीरगञ्जका एक पुरुषको काठमाडौंमा मृत्यु भएको छ ।

वीरगञ्जमै उपचारको क्रममा बाराका २ जना र रौतहटका १ जना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जमै एउटा वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार साँझसम्म  नेपालमा  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा ७० जनाको मृत्यु  भएको उल्लेख छ । उक्त तथ्यांकमा शुक्रबार नै वीरगञ्ज, विराटनगर र पाटन अस्पतालमा भएको रुपन्देही सुनौलीकी महिलाको मृत्यु समावेश छैन ।

Last modified on 2020-08-07 21:40:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts