लक्षण देखिए मात्रै कोरोनाको परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौं, साउन २३ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङमा पीसीआर परीक्षणको दायरा बढाइएको बताएका छन्।
ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या, गन्ध हराउने, स्वाद नपाउने र झाडापखाला भएमा कोरोना परीक्षण गर्न आग्रह गरे ।
उनका अनुसार कुनै एक लक्षण देखिएका, संक्रमितको सम्पर्कमा रहेका, विदेशबाट फर्किएका, श्वासप्रश्वासमा गम्भीर समस्या भएका, संक्रमित क्षेत्रबाट भर्खरै आएका, दिर्घरोगी तथा ६० वर्षमाथिका, आईसियुमा उपचाररत तथा अप्रेसन गर्नुपर्ने बिरामीको पनि कोरोना परीक्षण गरिनेछ।
मन्त्रालयले अति आवश्यक काम नपरी घरबाट बाहिर नजान र एक ठाउँबाट अर्को ठाउँको यात्रा नगर्न समेत आग्रह गरेको छ । ‘अति आवश्यक काम नपरी घरबाट बाहिर नजाऔं वा एक ठाउँबाट अर्को ठाउँको यात्रा नगरौं,’ मन्त्रालयका प्रवक्ता डा. गौतमले भने ।
कोरोना संक्रमित स्थानबाट आएको वा विदेशबाट आएको भए १४ दिन सरकारले बनाएको मापदण्ड प्रयोग गरी क्वारेन्टिनमा बस्नसमेत मन्त्रालयले आग्रह गरेको छ । काठमाडौंलगायत घना बस्ती भएका सहरमा संक्रमण बढ्दै गए पनि पसल, कार्यालय, सार्वजनिक स्थान, सवारी साधन र लाइनमा बस्दा जनस्वास्थ्यका मापदण्ड नअपनाइएको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको छ ।
मन्त्रालयले वृद्धवृद्धा, सुगर, ब्लडप्रेसर, दम, क्यान्सर, मुटु रोग र क्षयरोगजस्ता समस्या भएका व्यक्तिहरु बढी जोखिममा रहने भन्दै उनीहरुको सुरक्षाका लागि सजग रहन परिवारका सदस्यलाई समेत आग्रह गरेको छ ।