कोरोना संक्रमण यही अनुपातमा बढे केही समयमा नै आईसीयू र भेन्टिलेटरको अभाब हुने

काठमाडौँ साउन २३ । काठमाण्डौमा कोभिड–१९ का बिरामी बढ्दै गए उपलब्ध भेन्टिलेटर र आईसीयूको चरम अभाब हुने देखिएको छ । कोरोनाका गम्भीर बिरामीको उपचारका लागि निजी अस्पतालमा १६ हजार शैया बेड, १२ सय आईसियू, तीन सय पचास भेन्टिलेटर उपलब्ध रहेको अफिन(प्राईभेट हस्पिटल एशोसियसन)का महासचिव हेमराज दाहालले बताए । निजी अस्पतालमा १५ हजार दक्ष कामदार भए पनिे आईसीयू र भेन्टिलेटर अझै धेरै चाहिने दाबी गरे ।
‘अहिले धेरैलाई आईसीयू र भेन्टिलेटरको आवश्यक परेको छैन,् यदि संक्रमण अहिलेकै अबस्थामा बढे बिकरा अबस्था आउन सक्छ, ’ उनले भने । सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै उनले आईसीयू र भेन्टिलेटर तत्काल थप्न आग्रह गरे ।संक्रमण बढ्दै गए बिरामीमा गम्भिर खालको समस्या आउँने भन्दै सरकारले स्पष्ट नीति बनाएर आईसीयू र भेन्टिलेटरको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
अहिलेकै अबस्थामा संक्रमण बढ्दै गए आईसीयू र भेन्टिलेटर मात्रै नभई कुनै पनि स्रोत साधनले धान्न नसक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए । केही दिनमा नै बिकराल अबस्था आउन सक्ने भन्दै सबै पक्ष सजग रहन आग्रह गरे । सबै कार्यलय खुल्ने तर गाडी कम हुदा झनै संक्रमण बढ्न सक्ने भएकाले आउने जोखिम बाट बच्न सबै कार्यलय बन्द गर्न उनको सुझाव छ ।
यस्तै, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले आईसीयूमा जाने बिरामीको बढ्दो संख्याले सबैमा त्रास छाएको बताए । ‘आईसीयू र भेन्टिलेटरको उपचार प्रक्रिया थेग्न नसकिने भएकाले संक्रमण रोक्न आवश्यक छ,’ उनले भने ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आईसीयू र भेन्टिलेटरमा राख्ने अवस्था नआओस भनेर रोकथाममै बढी जोड दिँदै आएको तर सोचेको जस्तो प्रतिफल नआएको बताए । कोरोनाका गम्भीर बिरामीको उपचारका लागि निजी र सरकारीमा गरी ९ सय भेन्टिलेटर र १ हजार ७ सय आईसीयू मात्र उपलब्ध रहेको छ । गएको चैत देखि नै आवश्यकता अनुसार क्रमिक रूपमा आईसीयू र भेन्टिलेटर थप्ने प्रक्रिया अघि बढेको जानकारी दिए । ‘विश्वको शक्तिशाली र स्वास्थ्य सेवामा एक नम्बरमा रहेका मुलुकहरूसमेत सबै कोरोना बिरामीलाई आईसीयू र भेन्टिलेटर सेवा दिन नसक्ने अवस्थामा नेपालमा पनि त्यो समस्या आउछं,’ उनले भने ।
डा.अधिकारीले कोरोनाको विस्तार समुदायमा हुन नदिन हरेक नेपालीले अत्यावश्यक अवस्थामा मात्र घरबाहिर निस्कनुपर्ने र यसरी निस्कँदा मास्क लगाएर अन्य व्यक्तिसँग दुई मिटरको दूरी कायम राख्नुपर्ने र हातको सफाइमा ध्यान दिनुपर्नेमा जोड दिए । नागरिक आफै सचेत र सजक हुने हो भने बिकराल अबस्था नआउने डा. अधिकारीले दाबी गरे ।
अहिले धेरै अस्पतालमा कोरोना संक्रमितका लागि जनरल बेडको समेत अभाव हुन थालेको छ । यस्तै, देशभरिमा आइसोलेसन बेड संख्या ९ हजार ५ सय ७ छ । प्रदेश १ मा ५ सय ७, प्रदेश २ मा २ हजार ४ सय ४९, वाग्मती प्रदेशमा १ हजार ३ सय २४, गण्डकी प्रदेशमा २ सय ३५, प्रदेश ५ मा ३ हजार १ सय १९, कर्णाली प्रदेशमा १ हजार ५ सय ६१ र सुदूरपश्चिम प्रदेशमा ३ सय १२ आइसोलेसन बेड छन ।