कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको भन्दै कपिलवस्तुको सुरक्षा व्यवस्थामा कडाई



Download our app to get more features

कपिलवस्तु, २३ साउन । कोरोना संक्रमण समुदाय स्तरमै फैलिन थालेपछि देशका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडाई गर्न थालिएको छ । संक्रमण बढ्न थालेको भन्दै विभिन्न जिल्लाहरुमा दोहोर्याएर लकडाउन र निषेधाज्ञा समेत जारी गरिएको छ ।

यसैलाई ध्यानमा राखी प्रदेश ५ को कपिलवस्तु जिल्लामा पनि समुदायस्तरमै कोरोना देखिएपछि अत्यावश्यकवाहेकका सेवाहरु दश दिनका लागि बन्द गरिएको छ ।

आजदेखि लागू हुनेगरी सरकारी कार्यालय, भीड हुने गैर सरकारी संघ संस्थाहरु, बैंक लगायत १० दिनका लागि बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

बिहीवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । साथै समितिको बैठकले सार्वजनिक यातायात पनि १० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

आज बिहानदेखि लागू हुने यो निर्णय साउन ३२ सम्मका लागि भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

निजी सवारी साधनलाई जोर बिजोर नम्बरका आधारमा चल्न दिने निर्णय पनि भएको छ ।

कपिलवस्तुमा हालसम्म ८४० जना कोरोना संक्रमित फेला परेका छन् ।

Last modified on 2020-08-07 07:33:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts