एक महिनामा डडेल्धुरा अस्पतालले गर्यो ३ हजार बढीको कोरोना परीक्षण



Download our app to get more features

डडेल्धुरा, २० साउन । चन्दा संकलन गरेर डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पिसिआर मेसिनबाट एक महिनाको अवधिमा ३ हजार ९४ जनाको नमुना परीक्षण गरिएको छ । 

उक्त मेसिनबाट गत असार १८ गतेदेखि परीक्षण सुरु भएको थियो । हालसम्म परीक्षण भएका नमूना मध्ये १ सय ९९ पोजेटिभ र २ हजार ८ सय ९४ नगेटिभ नतिजा आएको अस्पतालका ल्याब इञ्चार्ज इश्वारी भुसालले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको गुणस्तर मापनमा शत प्रतिशत उत्तम देखिएको प्रयोगशालाले अहिले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लालाई सेवा दिइरहेको छ । 

सुरुमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका इञ्चार्ज रमेश शाही र काठमाडौंबाट आएका इञ्जिनियर सहितको टोलीले पिसीआर मेसिनको गुणस्तर परीक्षण गरेका थिए । अहिले डडेलधुरा अस्पतालका ल्याब इञ्चार्ज इश्वारी भुसालको नेतृत्वमा ४ जनाको टिमले उक्त मेसिनबाट कोरोना परीक्षण गरिरहेको छ । 

यसअघि धनगढीको प्रयोगशालामा भर परेका सम्पूर्ण पहाडी जिल्लालाई उक्त ल्याबले सहज भएको छ । डडेल्धुरा अस्पतालको ल्याबले अन्य सेवामा समेत स्तरबृद्धि गरेकाले सेवा लिन आउने बिरामीको चाप बढीरहेको ल्याब इञ्चार्ज भुसालले बताए । डडेल्धुरामै ल्याबसम्बधी सम्पूर्ण सेवा पाइने भएपछि आम नागरिकको समय र पैसा दुवै बचत भएको बताइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts