पर्सामा समुदायमै कोरोना संक्रमण फैलिएको विषयमा वैज्ञानिक आधार अपर्याप्त

मन्त्रालयबाट प्रदेश २ मा खटिएको उच्चस्तरीय टोलीले यसरी गर्दैछ काम



Download our app to get more features

काठमाडौं, २० साउन । प्रदेश नम्बर २ को पुगेको उच्चस्तरीय टोलीले काम सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहको नेतृत्वमा प्रदेश २ पुगेको टोलीले पर्सा जिल्लाबाट काम सुरु गरेको हो । 

पछिल्लो केहि समयदेखि प्रदेश २ विभिन्न जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिएको भन्ने आएपछि र संक्रमण तथा मृत्युदर बढ्दै गएपछि मन्त्रालयले उच्चस्तरीय टोली आइतवार त्यसतर्फ पठाएको हो ।

टोलीमा सहभागि डा अमृत पोखरेलले पछिल्लो समय कोरोना महामारीको हटस्पट बनेको पर्साबाट काम सुरु गरिएको बताए ।

हाम्रो डाक्टर न्यूजसँग कुराकानी गर्दै उनले पर्सामा पछिल्लो समय वास्तविक रुपमे संक्रमण फैलिसकेको बताए । उनले भने, ‘पर्साको विशेषगरी वीरगञ्ज महानगरपालिकाका सबै जसो वडामा कोरोना संक्रमितहरु फेला परेका छन् । जसमा केहि यात्रा विवरण भएका छन् भने केहिको यात्रा विवरण छैन । र जसको यात्रा विवरण छैन उनीहरु संक्रमितको सम्पर्कमा आएको भन्ने कुरा प्रस्ट भएको छ ।’

समुदायस्तरमै कोरोना संक्रमण फैलियो भन्ने विषयमा के पाउनुभयो भन्ने प्रश्नमा उनले भने, ‘समुदायस्तरमै कोरोना महामारी फैलिएको हो भन्ने पुष्टि गर्नका लागि धेरै वैज्ञानिक आधारहरु चाहिन्छ । यसै भन्न मिल्दैन । केही हदसम्म फैलिएको हो भन्न सकिन्छ । किनभने एक संक्रमितबाट अर्को व्यक्तिमा सरेको छ । तर, प्रमाणित गर्नका लागि यी आधार पर्याप्त भने हुँदैन ।’

कोरोना संक्रमण पुष्टि भएकाहरुको लक्षण, उनीहरुको यात्रा विवरण भए नभएको, संक्रमितको सम्पर्कमा आएको वा नआएको लगायतका विषयमा जानकारी लिने काम भइरहेको डा पोखरलले बताए ।

पर्साका विभिन्न अस्पतालमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएको, आइसोलेसन, आईसीयू बेडहरुको अभाव भएको र त्यसको व्यवस्थापन पनि गरिएको उनले बताए ।

उनले भने, ‘कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुँदा जनशक्ति अभाव भएका छन् । तर, काम भने रोकिएको छैन । थप जनशक्ति परिचालन गर्ने विषयमा समन्वय गरिएको छ । अर्को कुरा आइसोलेसन र वेड अभाव कम गर्न केही बेडहरु थपिएको छ र अझै थपिन्छ । समस्या हुन नदिनका लागि केन्द्र सरकारसँग समन्वय गरेर अघि बढ्नु पर्छ ।’

टोलीले सोमवार पर्सा र बारामा काम सकाएका छन् । पर्सा र बारामा ७० जना भन्दा बढीलाई कोरोना संक्रमितको सम्पर्क र संसर्गमा आएकाहरुको बारेमा पत्ता लगाउने विषयमा प्रशिक्षण समेत दिइएको र उनीहरुले हामीलाई जानकारी गराउने डा पोखरलले बताए ।

सोमवारको काम सकाएपछि टोली सोमवारै सप्तरी पुगेको छ । टोलीले सप्तरीमा पनि कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्ने विषयमा अध्ययन अनुसन्धान गर्नेछ । त्यहाँ आजबाट मात्रै काम सुरु हुनेछ । त्यसपछि टोली जनकपुर पुग्नेछ । किनभने जनकपुरमा पनि पछिल्लो समय कोरोना संक्रमण भेटिएकाहरु यात्रा विवरण नभएकामा पुष्टि भएको छ ।

जनकपुरको शहिदनगर नगरपालिकामा यात्रा विवरण नभएको स्थानीय एक व्यक्ति, प्रादेशिक अस्पताल जनकपुरका स्वास्थ्यकर्मी, विभिन्न बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जसलाई ध्यानमा राखि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको छ ।
 
पर्सा, बारा र सप्तरीमा पनि कोरोना संक्रमण फैलिन नदिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रदेश २ मा हालसम्म कोरोना भाइरसका कारण ५ हजारको हाराहारीमा संक्रमित भएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts