सुदूरपश्चिममा लक्षणसहितका कोरोना संक्रमित थपिने जोखिम बढ्यो

धनगढी, १८ साउन । सुदूरपश्चिममा लक्षणसहितका कोरोना संक्रमित थपिने जोखिम बढेको छ । केही सातासम्म कोरोनाको दैनिक संक्रमण दर घटेकोमा फेरी संक्रमण दर बढेपछि लक्षणसहितका संक्रमित समेत थपिने जोखिम बढेको हो ।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पूर्वी नेपाल जस्तै सुदूरपश्चिममा पनि लक्षणसहितका संक्रमित देखिने सम्भावना बढेको बताए ।
‘पूर्वी नेपालमा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेको छ,’ उनले भने, ‘अहिले नै सुदूरपश्चिममा लक्षणसहितका धेरै संक्रमित फेला नपरेपनि सतर्कता अपनाउन सकिएन भने लक्षणसहितका संक्रमित सुदूरपश्चिममा पनि बढ्ने सम्भावना रहेको छ ।’
उनले भारतमा दैनिक रुपमा संक्रमण बढ्दै गएको बताउँदै सबैभन्दा बढि जोखिम नै सुदूरपश्चिममा रहेको बताए । लक्षणसहितका संक्रमित थपिने जोखिम रहेपनि सुदूरपश्चिमका अस्पतालमा आईसीयू र भेन्टिलेटरको चरम अभाव रहेको छ ।
स्वास्थ्य निर्देशनालयले शनिवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदूरपश्चिममा १२ शैयाको आईसियू र सात वटा भेन्टिलेटर मात्रै उपलब्ध छन् । सेती प्रादेशिक अस्पतालमा १० शैयाको आईसियू र ५ भेन्टिलेटर, महाकाली अस्पतालमा दुई शय्याको आईसीयू र डडेल्धुरा अस्पतालमा दुई वटा भेन्टिलेटर रहेको निर्देशनालयले जनाएको छ ।
यो तथ्याङकले सुदूरपश्चिम प्रदेशमा बढिमा कोरोना भाइरसका १२ जना गम्भिर बिरामीको मात्रै उपचार सम्भव देखिएको छ । सुदूरपश्चिममा पहिलो संक्रमित फेला परेको चार महिना बितेपनि सुदूरपश्चिममा कोरोना भाइरसका गम्भीर बिरामीको उपचारका लागि आवश्यक पूर्वाधार र उपकरणको व्यवस्था हुन नसकेको हो ।
यता सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख आवश्यक पूर्वाधार र उपकरणको व्यवस्था भईरहेको बताए । उनले संघीय सरकारले समेत उपकरण थप्ने तयारी गरेको जानकारी दिए ।