विश्व स्तनपान सप्ताह सुरु 

स्तनपान सम्बन्धी सिफारिस गरिएका व्यवहारहरुमा सुधारको आवश्यक्ताः मन्त्री ढकाल



Download our app to get more features

काठमाडौं, १७ साउन । आजबाट विश्व स्तनपान सप्ताह सुरु भएको छ । 

“स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार” भन्ने मूल नाराका साथ सुरु भएको स्तनपान सप्ताह साउन २३ गतेसम्म सञ्चालन हुनेछ ।

स्तनपान संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक बर्ष संसारभर अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइँदै आइएको छ । 

सप्ताह सुरु भएको अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आमाको दूध बच्चाका लागि अमृत समान हुने भएकाले बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार रहेको उल्लेख गरे । 

उनले नेपालमा ९९ प्रतिशत आमाहरुले कम्तीमा एक पटक आफ्ना शिशुहरुलाई स्तनपान गराउने गरेको दावी गर्दै स्तनपान सम्बन्धी सिफारिस गरिएका अन्य व्यवहारहरुमा भने सुधार गर्नुपर्ने बताए ।

समय मै स्तनपानको सुरुवात, ६ महिनासम्म पूर्ण स्तनपान र कम्तिमा २ वर्षसम्म थप खानाका साथै स्तनपानलाई निरन्तरता दिनेको संख्यामा धेरै सुधारको आवश्यक्ता रहेको मन्त्री ढकालको भनाइ छ ।
 
सरकारले स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न तथा सबै प्रकारका कुपोषण न्युनीकरणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको भन्दै मन्त्री ढकालले  स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न हरेक स्थानीय तहहरुमा स्तनपान कक्षको स्थापना गरिएको दावी गरे ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा धेरैजसो राष्ट्रिय विमानस्थलहरुमा स्तनपान कक्षको स्थापना भएको र नभएका विमानस्थलहरुमा स्थापना हुने क्रममा रहेको जानकारी समेत गराए । 

त्यसैगरी सेवाग्राहीको भिड हुने सरकारी कार्यालयहरु, बसपार्कहरुमा पनि स्तनपान कक्ष स्थापना भइरहेको पनि उनले बताए । 

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्रि, वितरण, नियन्त्रण) ऐन, २०४९ र नियमावली, २०५१ का प्रावधानहरुको कार्यन्वयनगरी स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्ने कार्य भइरहेको मन्त्री ढकालले उल्लेख गरे । 

कुपोषणको समस्या समाधान गर्दै स्वस्थ मानव पुँजीको विकास मार्फत समृद्ध नेपाल, सुखी नेपाली को महाअभियानमा सबै जनाले आ आफ्नो स्थानबाट सहयोग गर्न पनि उनले सबैलाई अपिल गरे । 

Last modified on 2020-08-01 08:47:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts