नेपालगञ्जमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको पुष्टि, ३६ जनामा संक्रमण देखियो

रुपन्देही, १५ साउन । नेपालगञ्जमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको थप पुष्टि भएको छ । ४ दिन अगाडी कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएका थप २७ जनामा बिहीवार कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालगञ्ज त्रिभुवन चोक स्थित मिठाई पसल सञ्चालकको सम्पर्कमा आएका मध्ये १६ जनालाई कोरोना पुष्टि भएको छ भने आन्तरिक राजश्व कार्यालयका २ जना अधिकृतको सम्पर्कमा आएका मध्ये ९ जना कोरोना संक्रमित भएका छन् । राजश्व कार्यालयमा सेवा लिन आएका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।
मिठाई पसलको सम्पर्कको आधारमा नेपालगञ्ज स्थित भेरी अस्पतालमा गरिएको परीक्षणबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १०, १३ र १९ वडामा थप एक–एक जना व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ भने वडा नम्बर ११ का १३ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।
राजश्व कार्यालयमा पुष्टि भएका संक्रमित मध्ये ४ जना बाँके, २ जना सुर्खेत तथा बर्दिया, अर्घखाँची, कञ्चनपुर, सर्लाही र प्यूठानका एक÷एक जना कर्मचारी तथा सेवाग्राही रहेको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
समुदाय स्तरमा कोरोना पुष्टि हुँदै गएपछि जिल्लाको अवस्थामा समिक्षा गर्न र थप कदम चाल्न जिल्ला प्रशासन कार्यालय बाँकेमा जिल्ला विपद व्यवस्थापन समितिको बैठक राखिएको छ ।