पर्सामा थप दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु, प्रदेश २ मा संख्या १४ पुग्यो

पर्सा, १४ साउन । प्रदेश नम्बर २ मा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
बुधवार पर्सामा थप दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि प्रदेश २ मा मात्रै मृत्यु हुनेको संख्या १४ पुगेको हो ।
मृत्यु भएकाहरु वीरगञ्ज महानगरपालिकाका दुई जना स्थानीय ६८ र ७१ वर्षका पुरुषहरु रहेको नेशनल मेडिकल कलेजमा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले हाम्रो डाक्टर न्यूजलाई बताए ।
उनले ६८ वर्षका पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र ७१ वर्षका अर्का पुरुषको बुधवार दिउँसो भएको जानकारी दिए ।
७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेको र उनमा मिर्गौलाको समेत समस्या रहेको डा उपाध्यायले बताए ।
आइतवार ११ गते आफैले पैसा तिरेर उनको पिसिआर परीक्षण गराउँदा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै गण्डक अस्थायी अस्पतालमा मृत्यु भएका अर्का ६८ वर्षका पुरुषमा मुटु र निमोनियाको समस्या देखिएको थियो र उनको पनि उपचारको क्रममा मृत्यु भएको हो । एडभान्स अस्पतालमा उपचारको क्रममा साउन ७ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भोलिपल्ट कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो ।
योसँगै पर्सामा मात्रै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ भने नेपालमा मृतकको संख्या ५१ पुगेको छ ।