चार महिनासम्म पनि स्थापना भएन कोरोना परीक्षण प्रयोगशाला



Download our app to get more features

धनगढी, १३ साउन । सुदूरपश्चिम प्रदेशमा तीन वटा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न ढिलाई भएको छ ।

सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदको बैठकले प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउनका लागि तीन वटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको चार महिना पुगे पनि कार्यान्वयन नभएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रयोगशालाका लागि आवश्यक उपकरण खरिद गरेपनि जडान गर्न सकेको छैन् । प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले चैत १५ गते सेती प्रादेशिक अस्पतालसँगै डोटी जिल्ला अस्पताल र बैतडी जिल्ला अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो ।

अस्पतालहरुमा अहिलेसम्म आवश्यक भौतिक संरचना नै तयार पारिसकेका छैनन् । तर अस्पतालहरुमा भने अहिले सम्म प्रयोगशालाका लागि उपकरणहरु पुगाइएको छैन् । प्रयोगशाला स्थापनाका लागि आवश्यक उपकरण नै नपाएको जिल्ला अस्पताल डोटीका प्रमुख डाक्टर ज्योती पाण्डेले बताए । 

‘ल्याबका लागि आवश्यक भौतिक संरचना निर्माण गर्दैछौ,’ उनले भने, ‘एक कर्मचारीलाई खटाएका छौ । कामदारहरुले काम गर्दैछन् ।’ 

भौतिक संरचना र जनशक्ति व्यवस्थापनमा समस्या भएकाले प्रयोगशाला स्थापनामा पनि समय लागेको बताइएको छ । 

सेती प्रादेशिक अस्पतालले स्वास्थ्य कार्यालयको भवनको माथिल्लो तलामा प्रयोगशाला स्थापनाका लागि भौतिक संरचना निर्माण गरिरहेको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । 

उनले भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको बताए । ‘भौतिक संरचना निर्माण हुँदैछ । प्रदेश सरकारले प्रयोगशालाका सामाग्री भने हामीलाई दिएको छैन्’ उनले भने । 

धनगढीमा संघीय सरकारले स्थापना गरेको प्रयोगशाला र डडेल्धुरामा जनस्तरबाट रकम संकलन गरी स्थापना गरिएको प्रयोगशाला मार्फत अहिले कोरोना परीक्षण हुँदै आएको छ । तीन प्रयोगशाला थप भए अझै परीक्षणको दायरा बढ्नेछ। तर प्रयोगशाला स्थापनामा भने अझै समय लाग्ने देखिएको छ ।

तीन वटा प्रयोगशाला स्थापना गर्न प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले चार करोड ५० लाख खर्च लाग्ने अनुमान गरेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले प्रयोगशालाका लागि आवश्यक उपकरणहरु सबै आएको बताए ।

उनले भने, ‘उपकरणहरु आएका छन् । तर अस्पतालहरुले भौतिक संरचना निर्माणको काम नसकेकाले समय लागेको हो । भौतिक संरचना तयार हुँने बित्तिकै हामी उपकरणहरु पठाउछौ ।’ 

जनस्तरबाट अभियान थालिएको एक महिनामै डडेल्धुरामा प्रयोगशाला स्थापना भएर अहिले सञ्चालनमा छ । तर प्रदेश सरकारले भने निर्णय गरेको चार महिनासम्म पनि प्रयोगशाला स्थापना समेत गर्न नसकेको हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts