रक्तसञ्चार सेवाको ५५औँ स्थापना दिवसः दुई लाख ३८ हजार यूनिट रगत संकलन
काठमाडौं, साउन १२ । नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्र स्थापनाको ५५ औँ बर्ष विशेष रुपमा मनाइएको छ। सेवा स्थापना दिवस विभिन्न स्थानमा भीड नगरी फरक तरिकाल मनाइएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिइन्।
केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा मनाइएको वार्षिकोत्सव कार्यक्रममा रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो। सोही प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/०७७ मा दुई लाख ३८ हजार आठ सय ३६ यूनिट रगत संकलन भएको छ। साथै तीन लाख २१ हजार सात सय ७६ यूनिट रगत तथा रक्ततत्व विरामीलाई उपलब्ध गराइएको छ। देशभरीका विभिन्न संघ–संस्थाहरूबाट ३,४७८ वटा घुम्ती रक्त संकलन गरिएको छ। केन्द्रीय रक्त सञ्चार सेवाबाट मात्रै ३९,७५५ यूनिट रक्त संकलन गरिएको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डाक्टर मनिता राजकर्णिकारले रक्तदाता र रक्तसंचार सेवासँग सम्वद्ध संघसंस्थाको सहयोगमा संक्रमण जोखिम न्यूनीकरणमा ध्यान दिँदै सेवा प्रवाह गरिरहेको बताइन्।
सोमबार बकुलहर, रत्ननगर अस्पताल चितवनमा एक कार्यक्रम बीच आकस्मिक रक्तसञ्चार सेवा सुरु गरिएको छ।
नेपालगञ्जमा सञ्चार गृहको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। त्यस्तै कोहलपुरमा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
महिला रक्तदातामा बृद्धि तर संख्या अझै सानो
गत आ.व. २०७५/०७६ मा नेपालभर जम्मा २ लाख ७१ हजार ९ सय २२ यूनिट रगत संकलन भएको थियो। यस बर्ष कोभिडको कारणले केही प्रतिशत रक्तदाता घटे पनि महिला रक्तदाताको सँख्या बढेको बताइएको छ।
गत वर्ष कूल रक्तदाता महिलाको संख्या १६.१ प्रतिशत रहेकोमा यसपटक १७.५ प्रतिशत पुगेको छ। तर, यो संख्या अझै बढ्नुपर्ने केन्द्रको भनाइ छ।
नेपालभरी संकलित रगत समूहको विश्लेषण गर्दा पोजेटिभ समूहको रगत ९६.७० प्रतिशत र नेगेटिभ समूहको रगत ३.३० प्रतिशत रहेको छ। पोजेटिभ तर्फ ए समूहको सबैभन्दा बढी अर्थात् २८.१२ प्रतिशत देखिन्छ भने सबैभन्दा कम एबी समुहको ११.६७ प्रतिशत छ। त्यस्तै सबैभन्दा दुर्लभ रक्तसमूह एबी नेगेटिभ हो जुन नेपालमा ०.४७ प्रतिशत रहेको तथ्याङकले देखाउँछ।
५४ बर्ष अघि अर्थात् २०२३ साल साउन १२ गते नेपालमा रक्तसञ्चार सेवा स्थापना भएको थियो।
अहिले नेपालको ७३ जिल्लाका ११६ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत् रेडक्रसले सेवा सञ्चालन गरिरहेको छ।
काठमाडौंको केन्द्रीय रक्तसञ्चार सेवाको लगायत विराटनगर, पोखरा, नेपालगंज र चितवन गरी ४ वटा क्षेत्रीय रक्त सञ्चार सेवा २२ वटा जिल्लास्तरीय इकाई, ४७ जिल्लाका आकस्मिक रक्त सञ्चार सेवा र ३८ वटा अस्पतालका रक्त सञ्चार सेवा एकाइबाट अहिले रक्त सञ्चार सेवा सञ्चालनमा छ।
नेपाल रेडक्रसले नेपाल सरकार राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला, राष्ट्रिय रक्तसञ्चार व्यूरो, ग्लोबल एडभाइजरी प्यानल, जापनीज रेडक्रस, थाई रेडक्रस तथा आई.एफ.आर.सी.लगायत रक्तदाता उत्प्रेरणा तथा रक्तसंकलन कार्यमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेको छ।