पिसिआर परीक्षणका लागि तोकेभन्दा बढी शुल्क असुल्दै उपत्यकाका तीन अस्पताल

काठमाडौं, १२ साउन । सरकारले पिसिआर परीक्षणका लागि तोकेको शुल्क भन्दा बढी शुल्क असुल्ने गरेको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अवैध शुल्क असुलेको विषयमा बनाएको छानबिन समितिले गरेको अध्ययनमा धापासीस्थित ग्राण्डी इन्टरनेशनल हस्पिटल, धुम्बाराहीस्थित ह्याम्स अस्पताल र जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले अवैध शुल्क लिने गरेको पइएको हो ।
मन्त्रालयका उपसचिव पानबहादुर क्षेत्रीको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदनमा ती तीन अस्पतालले पिसिआर परीक्षणको नाममा सरकारले तोकेको भन्दा ७ सयदेखि २ हजारसम्म बढी शुल्क लिने गरेको उल्लेख गरिएको छ ।
उपसचिव क्षेत्रीले आफूले प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको हुनाले त्यस विषयमा के हुन्छ भन्ने विषयमा कुनै जानकारी नभएको हाम्रो डाक्टर न्यूजलाई बताए ।
उनले भने, ‘शुल्क असुलेको विषयमा प्रतिवेदन मन्त्रालयमा बुझाइ सकेको छु । तर, सरकारले पिसिआर शुल्क मात्रै तोकेको र बढी शुल्क लिए के हुन्छ भन्ने विषयमा नखुलाएकोले कसरी के कारबाही हुन्छ वा हुँदैन भन्ने विषयामा छलफल भइरहेको छ ।’
उनले थपे, ‘बढी शुल्क लिएको विषयमा कारबाही गर्ने कानुनी आधार सरकारले नबनाएको हुनाले त्यसलाई कसरी सम्बोधन गर्ने भनेर मन्त्रालयमा छलफलको विषय हो ।’
मन्त्रालयले वैदेशिक रोजगारमा जाने व्यक्तिको पिसिआर परीक्षणका राजधानीका तीन अस्पताललाई तोकेपनि ग्राण्डी, नेपाल मेडिकल कलेज र ह्याम्सले पनि त्यस्ता व्यक्तिको पिसिआर परीक्षण गर्ने गरेको क्षेत्रीको भनाइ छ ।
क्षेत्री भन्छन्, ‘निर्देशिका विपरित ती अस्पतालले सर्व साधारणहरुसँग ट्रान्सपोर्ट शुल्क, पीपीई शुल्क भनेर अतिरिक्त शुल्क असुलिरहेका छन् । यो कुरा तीनै अस्पतालले स्विकारेका छन् । उनीहरुको बाध्यता छ खर्च हुन्छ । सरकारले तोकेको शुल्क सबै सरकारलाई बुझाउनुपर्छ । अनि उनीहरुको खर्च कसरी उठ्छ । त्यहि भएर शुल्क लिने गरेको बताएका छन् ।’