कोरोना सङ्क्रमणका सबैभन्दा धेरै प्रदेश २ मा १२ जनाको मृत्यु, नेपालमा संख्या ४८ पुग्यो

काठमाडौं, १२ साउन । नेपालमा पछिल्लो २४ घन्टामा तीन जनाको कोरोना सङ्क्रमणका मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा तीन जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुने तीनै जना प्रदेश २ का रहेको बताए । उनले बाराको फेटा गाउँपालिका वडा नम्बर ३ का ६० वर्षीय पुरुषको सोमवार बिहान उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको बताए । उनले कोरोना सङ्क्रमित ती पुरुषमा मस्तिष्कघात, निमोनिया र मिर्गौलाले पीडित रहेको पनि बताए ।
यस्तै आइतवार पर्साका एक जना ६५ वर्षका भारतीय नागरिकको गण्डक अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने आइतवारै धनुषा शहिदनगर नगरपालिका ८ का ३६ वर्षका एक जना पुरुषको पनि कोरोना सङ्क्रमणका कारण मृत्यु भएको प्रवक्ता डा गौतमले बताए । उनलाई स्वास्थ्यमा समस्या भएपछि थप उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको पनि डा गौतमले बताए ।
योसँगै प्रदेश नम्बर २ मा मात्रै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ भने नेपालमा मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा १ सय ३९ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । डा गौतमले विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै नेपालमा कोरोना सङ्क्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको बताए ।
यस्तै पछिल्लो २४ घन्टामा ६ सय २३ जना कोरोना सङ्क्रमित स्वस्थ भएको भन्दै उनले नेपालमा हालसम्म कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १३ हजार ७ सय ५४ पुगेको जानकारी दिए ।
हालसम्म नेपालका ६ जिल्ला कोरोना सङ्क्रमण मुक्त भएको पनि उनले बताए ।