बाजुरामा स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि दोषीलाई कारबाहीको माग गर्दै स्वास्थ्य केन्द्र अनिश्चितकालका लागि बन्द

बाजुरा, १२ साउन । बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा कार्यरत एक जना स्वास्थ्यकर्मीमाथि कुटपिट गरिएको छ ।
स्थानीय युवाले स्वास्थ्यकर्मीमाथि कुटपिट गरी घाइते बनाएका छन् । आइतवार राति ड्यूटी गरिरहेका बेला स्वास्थ्य केन्द्रमा कार्यरत अहेब सिंहराज गिरी माथि आक्रमण भएको हो ।
युवाहरुले चेकजाँचको बहानामा गिरीमाथि कुटपिट गरेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुराज जैशीले बताए । कुटपिटबाट गिरीको दाँया हात भाच्चिएकाले उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको जैशीले बताए ।
स्थानीय बुढीनन्दा नगरपालिका –६ का केशर भाटको नेतृत्वमा रहेको समुहले आक्रमण गरी घाइते बनाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए ।
स्वास्थ्यकर्मीलाई घाइते बनाएपछि उनीहरुमाथि कारवाही गर्न र सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक र प्रसुति बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेका छन् ।
गिरीमाथि आक्रमण गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सदरमुकाम मार्तडी ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रबक्ता दानबहादुर रोकायाले बताए ।
केहीदिन पहिले मात्रै डा. राजुराज जैशीमाथि पनि ड्युटीमा रहेको बेला दुब्र्यवहार भएको थियो ।