स्वास्थ्य निर्देशनालय डोटीले भन्योः बाहिरबाट आएकालाई होम क्वारेन्टाइनमा नपठाउनू

धनगढी, ११ साउन । स्वास्थ्य निर्देशनालय राजपुर डोटीले विभिन्न जिल्ला तथा भारतबाट आएकाहरुलाई अनिवार्य संस्थागत क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ ।
आइतबार निर्देशनालयले प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै बाहिरबाट आएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा नपठाई संस्थागत क्वारेन्टाइनमा राख्न भनेको हो ।
निर्देशनालयले प्रदेशका केही स्थानीय तहले बाहिरबाट आएकाहरुलाई संस्थागत क्वारेन्टिनमा नराखी सिधै होम क्वारेन्टाइनमा राख्ने गरेको सूचना प्राप्त भएका बताउँदै त्यसो नगर्न आग्रह गरेको छ । होम क्वारेन्टाइनबाट समुदायमा कोरोना संक्रमण फैलिन सक्ने सम्भावना रहेको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए ।
तसर्थ स्थानीय तहमा भित्रिएकाहरुलाई क्वारेन्टिनमा राखी छैठौ दिनमा सबैको स्वाब संकलन गरेर कोरोना जाँचका लागि धनगढी अथवा डडेल्धुरा प्रयोगशालामा पठाउन निर्देशन दिएको उनले बताए ।
यस्तै उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आए अनिवार्य १४ दिन क्वारेन्टिन अथवा आइसोलेनमा बसाउने र नेगेटिभ आए थप ७ दिन होम क्वारेन्टाइनमा बसाउने व्यवस्था मिलाउन समेत स्वास्थ्य निर्देशनालयले सबै स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।