धुम्रपान गर्नेको शरीर अति संवेदनशील: कोरोना संक्रमणको उच्च जोखिम



Download our app to get more features

काठमाडौं, ११ साउन । विश्वभर फैलिएको नोवेल कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण विश्व नै प्रभावित बनेको छ भन्ने कुरा कसैसँग पनि अछुतो छैन । दिन प्रतिदिन भयावह बन्दै गएको कोरोना भाइरसले गत ७ महिनामा पूरै विश्वलाई आफ्नो चपेटामा लिइसकेको छ । चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरसको विषयमा निरन्तर नयाँ नयाँ अध्ययन अनुसन्धान भइरहेको छ । कुनै ठोस उपचार नभएको र खोप वा औषधि पनि हालसम्म पत्ता लाग्न नसकेको बेलामा कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेत र सतर्क नै हुनु उचित हुन्छ ।

विज्ञहरुका अनुसार श्वासप्रश्वासमा सिधै आक्रमण गर्ने कोरोना भाइरसले मानिसको ज्यान समेत जाने दर बढाउँदै गएको छ । अमेरिका स्थित क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनले धुम्रपान गर्नेहरुमा सामान्य मानिसमा भन्दा कोरोनाभाइरसको गम्भीर लक्षणहरु देखा पर्ने सम्भावना धेरै हुने जनाएको छ । सेन्टर फर टोबाको कन्ट्रोल रिसर्च एन्ड एजुकेशनका प्रोफेसर स्ट्यान्टन ग्लान्जले कोरोनाको जोखिम धुम्रपान गर्नेहरुमा बढी भएको बताए । उनले मानिसलाई फोक्सोको क्यान्सर गराउने मुख्यतत्व नै धुम्रपान रहेकाले उनीहरुमा कोरोनाभाइरसले आक्रमण गर्ने जोखिम अन्य क्यान्सर वा रोगीको भन्दा ८० प्रतिशतसम्म उच्च हुनेको उल्लेख गरेका छन् । अनुसन्धानकर्ताहरुले चीन, दक्षिण कोरिया र अमेरिकाका १९ पेपरहरुको रिभ्यु गरेर अध्ययन गरेका थिए । १९ रिसर्च पेपरमा अध्ययन गर्दा यस्तो देखिएको हो ।

फ्रान्सको राजधानी पेरिसस्थित पिति सेल्पेतिए अस्पतालमा रहेका कोरोना संक्रमणका ११ हजार पोजेटिभ रिपोर्टको अध्ययनमा ८ दशमलव ५ प्रतिशत संक्रमितले धुम्रपान गर्ने गरेको पाइएको छ । अध्ययनमा उनीहरुको रोग प्रतिरोधात्मक क्षमता धुम्रपान नगर्नेको भन्दा बढी रहेको देखिएको छ भने फोक्सोको क्यान्सर भएकाहरुलाई ८५ प्रतिशतसम्म कोरोना संक्रमणको जोखिम हुन्छ ।

युनिसेफकाअनुसार धुम्रपान वा चुरोटले कोरोनाभाइरसको संक्रमणबाट बचाउँदैन । धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ । विश्वमा वर्षेनी करिब ८० लाख मानिसहरू धुम्रपानका कारण अकालमै मर्छन् । जसमा फोक्सोको समस्या भएको, फोक्सोको क्यान्सर भएको, मुटुमा समस्या भएको लगायत विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरुमा धुम्रपानका कारणले थप जटिलता हुने भएकोले उनीहरुमा कोरोनाभाइरसको जोखिम अझ बढी हुन्छ ।

युरोपियन युनियन हेल्थ एजेन्सीको रिपोर्टका अनुसार धुम्रपान गर्ने व्यक्तिहरुको शरीर अति संवेदनशील बन्न पुग्छ र गम्भीर बिरामीहरुसँग लड्न असमर्थ हुन्छ । धुम्रपान गर्ने व्यक्तिहरुलाई कोरोनाभाइरसको संक्रमण चाँडै नै हुन्छ र निको हुने सम्भावना स्वस्थ व्यक्तिहरुको तुलनामा कमै हुन्छ । युरोपियन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सका अनुसार धुम्रपान गर्ने व्यक्तिहरुमा कोरोनाभाइरसको संक्रमणको सम्भावना अत्यधिक हुन्छ ।

यूनिभर्सिटी अफ साउथ कोरोलीको अर्को एउटा अध्ययनमा भनिएको छ, ‘धुम्रपानगर्नेले फोक्सोमा इन्जाइमको क्रियाशिलता बढ्छ । त्यसो हुँदा कोभिड–१९ का बिरामीहरुको संख्या बढ्छ । धुम्रपान गर्ने अधिकांश व्यक्तिहरुमा यो महामारीको लक्षणको रुपमाश्वास लिनमा गाह्रो हुने जस्ता समस्याहरु देखिन्छ ।’

नेपालमा पनि फोक्सोको क्यान्सरका बिरामी अन्य क्यान्सर रोगीभन्दा उल्लेखनीय रुपले बढी छ । धुम्रपान गर्नेको संख्या र वायू प्रदुषण तथा मानिसको उमेर बढेसँगै फोक्सोको क्यान्सरका रोगीपनि वृद्धि हुँदै गएको क्यान्सर रोग विशेषज्ञ डा.प्रकाशराज न्यौपानेको भनाइ छ ।

डा. न्यौपानेकाअनुसार फोक्सोमा लाग्ने क्यान्सरको प्रमुख कारण धुम्रपान नै हो । नेपालमा भएका फोक्सोको क्यान्सर पीडितमध्ये ८० प्रतिशतलाई धुम्रपान कै कारणले फोक्सोको क्यान्सर हुने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘विश्वव्यापी रुपमा फोक्सोको क्यान्सरका कारण सबैभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । क्यान्सरबाट मृत्यु हुने बिरामीमध्ये फोक्सोको क्यान्सर एक नम्बर मै छ ।’ उनकाअनुसार फोक्सोमा लाग्ने क्यान्सरले सबैभन्दा बढी ६० वर्ष भन्दा बढी उमेर पुगेका मानिसलाई प्रभाव पारेपनि हाल आएर युवा पुस्तामा पनि फोक्सोको क्यान्सर देखिन थालेको छ । कारण, युवा पुस्ताले शौख र साथीभाईको लहलहैमा धुम्रपान गर्न थालेका छन् ।

पछिल्लो समय विश्व नै कोरोना महामारीको चपेटामा आएपछि कस्ता खालका बिरामीलाई यसले बढी प्रभावित बनाउँछ भन्ने विषयमा विभिन्न अध्ययन अनुसन्धान भइरहेको छ । श्वासप्रश्वासमा मुख्य असर गर्ने कोरोनाभाइरसले क्यान्सर त्यसमा पनि फोक्सोको क्यान्सर रोगीलाई तुरुन्तै आफ्नो चपेटामा लिने गरेको डा.न्यौपानेले बताए ।

उनले सूर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिको विभिन्न कोषहरु कमजोर हुनुका साथै फोक्सो पनि कमजोर भइसकेको र रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुने हुँदा फोक्सोको क्यान्सर हुने र त्यसमा कोरोनाभाइरसले आक्रमण गर्ने दर झन्डै ९० प्रतिशत रहेको उल्लेख गरे ।

डा न्यौपाने भन्छन्, ‘फोक्सोमा असर पार्ने ठूलो कारक तत्व नै सूर्तिजन्य पदार्थ हो । धुम्रपानका कारण मानिसको फोक्सोलाई कमजोर बनाउनुका साथै फोक्सोमा भएको एसरिसेप्टर (श्वास फेर्ने मुख्य प्रणाली) मा गएर भाइरसहरु बस्छन् । जसले गर्दा मानिसलाई श्वासप्रश्वासमा समस्या हुन्छ । कोरोनाभाइरस पनि एस रिसेप्टरमा गएर बसेपछि फोक्सोका क्यान्सर पीडितलाई जटिल अवस्थामा पुर्याउँछ ।’

‘सूर्तिजन्य पदार्थ सेवन गर्ने मानिसमा टाइप टु न्यूसाइट धेरै हुन्छ । जसले गर्दा फोक्सोको क्यान्सर भएकाहरुमा भाइरससँग लड्ने क्षमता कमजोर भइसकेको हुँदा कोरोनाभाइरसले सजिलै आक्रमण गर्न सक्छ ।’ डा न्यौपानेले थपे । डा न्यौपानेकाअनुसार एक त क्यान्सर पीडितमा रोगसँग लड्ने क्षमता कमजोर हुन्छ त्यसमाथि कोरोनाभाइरसले मानिसको फोक्सोमै आक्रमण गर्ने हुँदा मृत्युको जोखिम बढाउने हुन्छ ।

उनी भन्छन्, ‘साधारण स्वस्थ मानिसमा कोरोना लागेको छ भने उसको मृत्युदर जम्मा २ प्रतिशत हुन्छ भने अन्य स्वास्थ्य समस्या भएकाहरुको कोरोना संक्रमणपछि मृत्युदर ८ प्रतिशत हुन्छ । तर, फोक्सोको क्यान्सर भएका बिरामीलाई कोरोना संक्रमण भयो भने उसको मृत्युदर सबैभन्दा बढी २० प्रतिशत हुन्छ ।’ डा.न्यौपानेकाअनुसार फोक्सोको क्यान्सर लागेका बिरामीको उपचारका लागि विभिन्न प्रविधिहरु विकास भइसकेपनि कोरोनाभाइरसले मानिसको श्वासप्रश्वास प्रणालीलाई नै फेल गराइदिने हुनाले फोक्सोको क्यान्सरका बिरामीका लागि निकै जोखिम रहेको बताए ।  

डा न्यौपाने भन्छन्, ‘फोक्सो शरीरको महत्वपूर्ण अङ्ग हो । यसलाई स्वस्थ राख्न जरुरी छ । फोक्सोको प्रमुख दुस्मन भनेको चुरोट अर्थात धुम्रपान गर्नु हो । यसको प्रयोग रोक्नै पर्छ । चुरोट सेवन गर्नेमा कोरोनाको जोखिम उच्च रहेको कुरा त विभिन्न अध्ययनले देखाइसकेको छ । कोरोना संक्रमितको उपचारका क्रममा पनि चुरोट अर्थात सुर्तीजन्य पदार्थको सेवन गर्नेमा बढी जोखिम भएको पाइएको छ । त्यसैले कोरोनाको डरले मात्र हैन आफू स्वस्थ रहन पनि सुर्तीजन्य पदार्थको सेवनबाट टाढै रहनुपर्छ ।’

Last modified on 2020-07-26 15:04:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts