कोभिड–१९ का बिरामी भर्ना गर्न थालेपछि सुनसान बनेको भीम अस्पतालमा सबै सेवा सुचारु

रुपन्देही, १० साउन । भैरहवास्थित भीम अस्पतालमा पुनः सम्पूर्ण स्वास्थ्य सेवा सुचारु भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण प्रदेश ५ सरकारले कोभिड १९ विशेष अस्पतालको रुपमा सञ्चालन गर्दै अस्पतालमा पुरानै अवस्थामा लगेर स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।
प्रदेश ५ मा कोभिड–१९का बिरामी घटेको र अस्पतालमा कोभिडका बिरामी शुन्य भएकाले अन्य स्वास्थ्य सेवा सुचारु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. नविन दर्नालले जानकारी दिए ।
अस्पतालमा बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, प्रसुती सेवा, सामान्य चिकित्सा, मातृ शिशु, थाइराईड परीक्षणसहितको प्रयोगशाला, खोप, पोषण, परिवार नियोजन, एक्सरे, ई.सि.जी., यु.एस.जी. लगाएतका अस्पतालले यस अघि प्रदान गर्दै आएका सम्पुर्ण सेवाहरु सुचारु गरिएको मेसु डा. दर्नालले बताए ।
सबै सेवा सुचारु भएसँगै अस्पताल आउने बिरामीको संख्यामा वृद्धि भएको छ । स्थापना कालमा ३ शय्या बेडबाट सुरु भएको अस्पताल २०३५ सालमा १५ शय्या र र २०४१ सालबाट २५ शय्याको सुविधा प्रदान गर्दै आएको अस्पतालमा अहिले ६० शय्यामा उपचार गरिरहेको छ ।
नेपालमा कोभिड–१९ को संक्रमण देखिएपछि कोभिड अस्पताल बनाई उपचार सुरु गरेको भीम अस्पतालले ९६ जनाको सफल उपचारपछि घर पठाएको छ ।
प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको भीम अस्पतालले कोरोनाको संक्रमण देखिएर उपचारमा आएका सबै बिरामीको सफल उपचार गरी घर पठाइएको अस्पतालका सुचना अधिकारी एवं प्रवक्ता गोपाल उपाध्यायले जानकारी दिए ।
कोभिड–१९को संक्रमण देखिएकामध्ये केही व्यक्तिमा लक्षण नदेखिएको भएपनि केही व्यक्तिमा भने ज्वरो, उच्च रक्तचाप, मधुमेह र दमका बिरामी रहेकोमा उनीहरुलाई उपचार गरी निको बनाइएको उपाध्यायले जानकारी दिए । भीम अस्पतालमा रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाबाट कोभिडका बिरामी आएका थिए ।
भीम अस्पतालमा अहिले कोभिड–१९ का बिरामी नरहेको बताउँदै सुचना अधिकारी उपाध्यायले कोभिडका बिरामी आएर उनीहरुलाई पनि छुट्टै व्यवस्थापन गरेर उपचार गरिने गरी अन्य सेवा सुचारु गरिएको बताए ।