नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १३ हजार नजिक, ४४ जनाको मृत्यु

काठमाडौं, ९ साउन । नेपालमा पछिल्लो २४ घन्टामा एक सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको बताए । उनले पछिल्लो २४ घन्टामा एक सय ७ जना संक्रमित स्वस्थ भएको भन्दै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १२ हजार ९ सय ७४ पुगेको जानकारी दिए ।
डा गौतमले पछिल्लो २४ घन्टामा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको भन्दै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको बताए ।
डा गौतमले नेपालमा कोरोना संक्रमितको संख्यामा कमी आएको दावी गरेका छन् । उनले एक महिनाको अवधिमा नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्यामा कमी आएको दावी गरे ।
सरकारले एक महिनाको अवधिमा कोरोना संक्रमणको दरमा कमी आएपनि विज्ञहरुले भने आधाले पिसिआर परीक्षण कम हुँदा संक्रमितको संख्यामा कमी आएको बताएका छन् ।
मन्त्रालयका अनुसार असार ९ गते ६ हजारभन्दा बढीको पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ६ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो भने साउन ९ गते ३ हजार पिसिआर परीक्षणमा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले नेपालमा कोरोना संक्रमणको दर घटेको दावी गर्दै आएपनि परिक्षण दर घटाएकोले नेपालमा कोरोना संक्रमितको दरमा कमी आएको जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेको भनाइ छ ।