सरकारले तोकेको अस्पताल बाहेकले कोरोना परीक्षणको सर्टिफिकेट दिए कारबाही गरिने

काठमाडौं, ८ साउन । नेपालमा पछिल्लो २४ घन्टामा थप एक सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना सङ्क्रमितकोे संख्या १८ हजार २ सय ४१ पुगेको बताए ।
यस्तै पछिल्लो २४ घन्टामा १ सय ५७ जना कोरोना सङ्क्रमित निको भएको जानकारी दिँदै उनले नेपालमा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये निको हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको बताए ।
डा गौतमले नेपालमा हालसम्म ६ जिल्ला कोरोना मुक्त भएको भन्दै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको बताए ।
यसैबीच डा गौतमले विदेश जानका लागि सरकारले कोरोना परीक्षण गर्न भनेर अनुमति पाएका बाहेकका अस्पतालले पनि सर्टिफिकेट वितरण गर्न थालेको भन्दै सचेत हुन सबैलाई आग्रह गरेका छन् ।
विदेश जाने नेपालीका लागि पिसिआर परीक्षण अनिवार्य भएकाले सरकारले तोकेका अस्पतालमा मात्रै कोरोना परीक्षण गराउन पनि सबैलाई अपिल गरे । साथै कुनै अस्पतालले त्यस्तो गरेको पाइएमा कारबाही गरिने पनि चेतावनी दिए ।