धनगढीमा कोरोना संक्रमित गर्भवती महिलाका लागि होल्डिङ्ग र आइसोलेसन सेन्टर



Download our app to get more features

धनगढी, ८ साउन । कोरोना भाइरसबाट संक्रमित गर्भवतीहरुका लागि नेपालमै पहिलोपटक धनगढीमा नमूना महिला होल्डिङ्ग र आइसोलेसन सेन्टरको बिहिबारबाट शुभारम्भ गरिएको छ । 

धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित होल्डिङ्ग सेन्टरको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थी र नगरप्रमुख नृपबहादुर वडले संयुक्त रुपमा उद्दघाटन गरेका छन् ।

उद्दघाटन गर्दै स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले अन्य समयको तुलनामा कोभिड–१९ को बेला सबैभन्दा बढी समस्या गर्भवतीहरुलाई हुने भएकोले नमूना आइसोलेसन सेन्टरले धेरै सहयोग गर्ने बताए । 

धनगढी उपमहानगरपालिका १ स्थित बि पोलिटेक्निक ईन्स्टिच्युमा महिला होल्डिङ्ग र आइसोलेसन सेन्टरमा कोरोना पोजिटिभ र ननपोजिटिभ गरी दुई प्रकारले व्यवस्थापन गरिएको नगरप्रमुख वडले बताए । उनले महिला होल्डिङ्ग र आइसोलेसन सेन्टरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र व्यवस्थापक सम्पूर्ण कर्मचारी महिला नै रहने बताए ।

के छ आइसोलेसनमा व्यवस्था ?
महिला होल्डिङ्ग सेन्टरमा कोरोना नलागेका गर्भवती महिलाहरूलाई छुट्टै बस्ने व्यवस्थापन गरिएको छ । जहाँ १० बेडसहित खाना, बस्न लगायतका सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध रहेको छ ।

त्यस्तै महिला आइसोलेसनमा कोरोना संक्रमित तर लक्षण नदेखिएका गर्भवतीहरुलाई छुट्टाछुट्टै बस्ने व्यवस्था गरिएको छ । गर्भवतीलाई खाना, बस्न, अतिरिक्त पोषण खानाको व्यवस्था, हेरालुको लागि छुट्टाछुट्टै बस्ने व्यवस्था, बालबालिकालाई खेल्ने सामग्रीसहित अभिभावकसंगै बस्ने व्यवस्था गरिएको छ । जहाँ कोरोना पोजिटिभका लागि १२ बेडको व्यवस्थापन गरिएको छ भने हेरालुका लागि छुट्टै ३ बेडको व्यवस्था रहेको छ ।

सेन्टरमा गर्भवतीलाई अस्पतालसम्म लैजान अथवा अस्पतालबाट होल्डिङ्ग सेन्टरसम्म लग्न २४सै घण्टा एम्बुलेन्स सेवा, नियमित चेकजाँच लागि २४सै घण्टा स्वास्थ्यकर्मी सेवा लगायतका अन्य सुविधा समेत रहेको छ ।

Last modified on 2020-07-23 16:18:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts