प्रादेशिक आयुर्वेदिक अस्पतालको ९० प्रतिशत काम सम्पन्न

धनगढी, ८ साउन । संघीय सरकारको १६ करोड ३६ लाखको लगानीमा धनगढीमा निर्माण थालिएको ५० शय्याको प्रादेशिक आयुर्वेदिक अस्पतालको काम निर्धारित समयमा सम्पन्न नभएपछि म्याद थप गरिएको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्वर १३ राजपुरमा आयुर्वेदिक अस्पताल निर्माणका लागि २०७४ पुसमा सम्झौता भएको थियो । ३० महिना भित्र निर्माण सम्पन्न गर्न सम्झौता भएकोमा सम्झौता अवधिमा निर्माण सम्पनन नभएपछि ८ महिना म्याद थपिएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीका सूचना अधिकारी श्यामचन्द्र बुढाथुकीले बताए ।
‘लकडाउनका कारण काम प्रभावित भएको छ । ३० महिनामा काम पूर्ण गर्ने सम्झौता भएको थियो । तर, पूर्ण भएन । ८ महिना समय थपिएको छ ।’ उनले भने । भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको उनले बताए । रंगगोगन, विद्युत जडान, माटो भरान लगायतको काम बाँकी रहेको छ । एक सय २० दिन सम्म चलेको लकडाउनमा आवश्यक सामाग्री अभाव भएपछि काम प्रभावित भएको दावी निर्माणको जिम्मा पाएको गौरी पार्वती एमके जेभीका सञ्चालक चन्द्र शाहको छ ।
उनले भने, ‘लकडाउनमा पनि काम सूचारु थियो । तर, निर्माण सामग्री नपाएर काम प्रभावित भयो ।’ थपिएको ८ महिना भित्र आयुर्वेदिक अस्पतालको निर्माण पुरा गर्ने र प्रदेशको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गर्ने योजनामा शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई छ । अस्पताल सञ्चालन भएपछि १३ जना विशेषज्ञ डाक्टर सहितको टीमले सेवा दिनेछ ।