सुदूरपश्चिममा अन्य रोगको संक्रमण भएका मिर्गौला पीडितले डायलासिस सेवा पाउँदैनन्

धनगढी, ५ साउन । गत चैतमा सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा लिन पुगेकी कञ्चनपुरकी सोनु सिनालको रगत परीक्षणका क्रममा हेपाटाइटिस लगायत कुनै पनि भाइरल समस्या नदेखिएपछि डायलसिस सेवा सुरु गरियो । तर, दुई घण्टापछि डाक्टरहरूले सिनालको हिस्ट्रीमा हेपाटाइटिस सी भएको बुझेपछि उनले निजी प्रयोगशालामा पैसा तिर्ने गरी फेरि रगत जाँच गराउँदा हेपाटाइटिस सी पोजेटिभ देखाएको थियो ।
एकपटक हेपाटाइटिस भएको मान्छेलाई उपचार गरिसके पनि भाइरल मार्क टेस्टमा पोजेटिभ देखिने भएपनि उपचार गरिसकेको बिरामीको अवस्था पत्ता लगाउन एचसीभी आरएनए टेस्ट गर्नुपर्छ । तर, धनगढीमा उक्त जाँच सम्भव नभएपछि काठमाडौं र भारतमा यसअघि गरेको जाँचको रिर्पोट देखाइन् ।
सोही रिपोर्टका आधारमा आफूलाई अन्य बिरामीसरह सेवा दिन सकिने भन्दै भारत र भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्र अस्पतालकै डाक्टरले लेखेको पर्चा र पत्रसमेत देखाउँदा नमानेपछि सिनालले प्रतिवाद गर्नुपरेको थियो । प्रतिवाद गरेर भएपनि त्यो दिन डायलासिस गराएकी सिनाललाई अस्पतालमा डायलासिस सेवा दिदै आएको बिरंग हेल्थ केयर प्रालीले पुनःसेवा नदिने भन्दै फर्काएको थियो ।
अहिले सिनाल भारतमै नियमित डायलासिस गराउँदै आएकी छन् । यसरी सुदूरपश्चिममा मिर्गौला पीडित बिरामीले रगत परीक्षणका क्रममा हेपाटाईसिस बी, सी तथा एचआईभी एड्स जस्ता रोगको संक्रमण देखिएमा डायलासिस सेवा नपाउने समस्या रहेको छ ।
सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा दिदै आएको बिरंग हेल्थ केयर प्रालीले स्वास्थ्य सेवा विभागको अनुमती नपाउँदा सरुवा रोगको संक्रमण देखिने मिर्गौला पीडितलाई डायलासिसका लागि नेपालगञ्ज रेफर गर्दै आएको छ ।
बिरगं हेल्थ केयर प्रालीको डायलासिस वार्ड व्यवस्थापक दिपक भट्टले स्वास्थ्य मन्त्रालयको अनुमती प्राप्त भए मात्रै अन्य रोगको संक्रमण भएका मृगौला पीडितका लागि छुट्टै वार्ड र मेसिन राखेर डायलासिस सेवा दिन सकिने बताए । तर, अनुमती नपाउँदा अहिले त्यस्ता बिरामीलाई नेपालगञ्ज रेफर गरिँदै आएको भट्टले बताए । हुन त बिरंग हेल्थ केयर प्रालीले प्रादेशिक अस्पतालमा समान्य मृगौलाका बिरामीको डायलासिसका लागि सम्झौता अनुसार राख्नुपर्ने १० वटा मेसिन अझै व्यवस्थापन गरेको छैन् ।
तर, सरकारको अनुमती बिना सेवा सञ्चालन गर्दा शुल्क धेरै लाग्ने हुँदा बिरामीलाई समस्या हुने व्यवस्थापक भट्टको भनाइ छ । ‘हामीले प्राईभेट रुपमा सेवा दिदा त्यसको शुल्क बढिपर्छ यहाँ धेरैजसो विरामी आर्थिक अवस्था कमजोर भएका छन् । उनीहरुले सेवा लिन सम्भव देखिँदैन’ भट्टले भने ।
तर, प्रदेशमा अन्य रोगको संक्रमण भएका मिर्गौला पीडितले डायलासिस सेवा नपाउँदा नेपालगञ्ज, काठमाडौं एवं छिमेकी मुलुक भारत धाउनुपर्ने बाध्यता रहेको छ । धनगढीमा भने स्वास्थ्य सेवा विभागबाट अनुमती प्राप्त गर्न नसक्दा छुट्टै वार्ड स्थापना गर्न नसकिएको भनिएतापनि सम्बन्धीत निकायले तदारुकता नदेखाउँदा मिर्गाैला पीडितको बिजोग भएको छ ।