आन्दोलनरत एपोन र सरकारबीच आजपनि वार्ता हुँदै

काठमाडौं, ५ साउन । औषधि उत्पादक संघ (एपोन) र सरकारबीच आजपनि छलफल हुने भएको छ ।
विभिन्न माग राखेर आन्दोलनमा उत्रेको संघको माग सम्बोधन गर्नका लागि सरकारले गठन गरेको समितिको बैठक आज दिउँसो ४ बजे बस्न लागेको संघका महासचिव विप्लब अधिकारीले हाम्रो डाक्टर न्यूजलाई जानकारी दिए ।
यसअघि आइतवार एक चरणको छलफल समेत भएको महासचिव अधिकारीले बताए ।
सरकारले आइतवार नै संघको माग सम्बोधन गर्नका लागि समिति गठन गरेको हो । डा विकास देवकोटाको संयोजकत्वमा गठित समितिमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल र एपोनको तर्फबाट अध्यक्ष जि नारायण श्रेष्ठ सदस्य रहेका छन् ।
सरकारले स्यानिटाइजर दर्ताका लागि ३ महिनाको समयावधि थप गरेको विरोधमा औषधि उत्पादक संघको आन्दोलन आज सातौं दिनपनि जारी छ । संघले माग सम्बोधनका लागि सरकारलाई ३ दिनको समय दिएपनि माग सम्बोधन नभएपछि निरन्तर औषधि व्यवस्था विभागमा धर्ना दिँदै आएको छ ।
नेपाली औषधि उद्योग स्यानिटाइजरको माग पूर्ति गर्न सक्ने, नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरकारले पनि पहल गर्नुपर्ने लगायतका माग राखि संघ आन्दोलनमा उत्रेको हो ।