के कोरोना भाइरसमा भएका परिवर्तनले त्यसलाई थप सङ्क्रामक बनाउँदैछ?

काठमाडौं, ५ साउन । संसारमा पहिलोपटक एकैदिन अढाइ लाख मानिस सङ्क्रमित भएको कीर्तिमानले यो भाइरस चीनमा देखा परेयता कसरी निरन्तर फैलिरहेको छ भन्ने देखाउँछ ।
अहिले संसारभर फैलिरहेको कोरोनाभाइरस चीनमा देखा परेको कोरोनाभाइरस जस्तै स्वरूपको भने होइन ।
कोभिड-१९ रोग गराउने सार्स-कोभ-टु नामक यो कोरोनाभाइरस फैलँदै गर्दा आफैँ पनि स्वरूप परिवर्तन गर्दैछ ।
वैज्ञानिकहरूले उक्त भाइरसको जीनमा हजारौँ थरी म्युटेसन वा परिवर्तनहरू भएको पाएका छन् तर त्यसमध्ये हालसम्म एउटा परिवर्तनले चाहिँ भाइरसको व्यवहार नै बदलिदिएको ठानिएको छ ।
परिवर्तनको प्रभाव कस्तो ?
यो परिवर्तनबारे महत्त्वपूर्ण प्रश्न यसले भाइरसलाई थप सङ्क्रामक वा थप घातक बनाएको छ कि छैन भन्ने हो ।
र यो परिवर्तनले भविष्यमा बनाइने खोपको सफलतामा प्रभाव पार्छ कि पार्दैन ?
अन्य फ्लुजस्ता भाइरसको तुलनामा कोरोनाभाइरसमा वास्तवमा सुस्त गतिमै परिवर्तन भइरहेको बताइन्छ ।
मानव जनसङ्ख्यामा यसप्रति न्यूनस्तरको प्राकृतिक प्रतिरोधात्मक क्षमता, खोपको अभाव तथा थोरै प्रभावकारी उपचारको उपलब्धताका कारण भाइरसलाई खासै परिवर्तित हुनुपर्ने खाँचो पनि परेको छैन ।
अहिले महत्त्वपूर्ण देखा परेको म्युटेसन जसलाई D614G नाम दिइएको छ त्यसले भाइरसको स्पाइक वा बाहिरी तीखो भागमा रहेको प्रोटिनमा परिवर्तन गरेको छ। यही भागको प्रयोग गरेर भाइरस मानिसको कोषभित्र पस्छ ।
यो परिवर्तन वुहानमा प्रकोप भएको केही समयपछि इटलीमा सङ्क्रमण फैलिरहेको समयमा देखा पर्न थालेको हो ।
अहिले विश्वमा फैलिएको कोरोनाभाइरसको ९७ प्रतिशत यही परिवर्तित स्वरूपको पाइएको छ ।
विकासक्रमको प्रभाव
हावी भएको पाइएको यो परिवर्तित स्वरूपले भाइरसलाई कुनै फाइदा पुर्याएको छ वा यो केवल सम्भावनाको खेलमात्र हो भन्ने प्रश्न उठेको छ ।
भाइरसहरूले कुनै महान् योजना बनाउँदैनन् ।
ती निरन्तर स्वरूप परिवर्तन गरिरहन्छन् ।
कुनै परिवर्तनले तिनलाई आफ्नो सङ्ख्या बढाउन मद्दत पुग्छ भने कुनैले पुग्दैन। अन्य कतिपय परिवर्तन तटस्थ प्रकारका हुन्छ ।
जुन परिवर्तन अहिले व्यापक बनेको छ त्यो हावी हुनुको कारण शायद त्यो प्रकोपको सुरुमै देखापरेकाले हुनसक्छ ।
युनिभर्सिटी कलेज लण्डनकी डा लुसी भान डोर्प यस्तै ठान्छिन् ।
तर बढ्दो सङ्ख्याका भाइरसविज्ञहरूले भने यो परिवर्तनमार्फत् भाइरसलाई उसको विकासक्रममा फाइदा पुगेकोले यही हावी भएको ठान्छन् ।
तीमध्ये एक हुन् युनिभर्सिटी अफ शेफिल्डका डा. थुसन डि सिल्भा ।
उनका अनुसार यो परिवर्तित स्वरूपको भाइरस थप सङ्क्रामक भएको पर्याप्त प्रमाण नभएपनि यो तटस्थ भने नभएको बताउँछन् ।
प्रयोगशालामा गरिएका परीक्षणमा यो परिवर्तित भाइरस मानवकोषमा पस्न ज्यादा सक्षम भएको पाइएको फ्लोरिडाका स्क्रिप्स युनिभर्सिटीका प्राध्यापकद्वय हेर्युन चो तथा माइकल फार्जानले बताए ।
यसको स्पाइक प्रोटिनमा भएको परिवर्तनका कारण यो मानव कोषमा थप सहजताका साथ टाँसिन र थप प्रभावकारी रूपमा काम गर्न सक्ने देखिएको छ ।
न्यूयोर्क युनिभर्सिटीका जिनोम टेक्नोलोजी सेन्टरका डा नेभिल सन्जनाको टोलीले उनको प्रयोगशालामा परिवर्तित स्वरूपको भाइरस र वुहानमा देखा परेको सुरुको प्रकारको भाइरसको तुलना गरे ।
परिणामले पुरानोभन्दा परिवर्तित भाइरस थप सङ्क्रामक पाइएको उनले बताए ।
प्रयोगशाला बाहिर यो परिवर्तित भाइरस थप सङ्क्रामक रहेको केही अप्रत्यक्ष प्रमाण मिलेका छन् ।
दुईवटा अध्ययनमा यस किसिमको भाइरसले सङ्क्रमित बिरामीहरूको स्वाब नमुनामा धेरै परिमाणमा भाइरस रहेको भेटियो । अर्थात्, उनीहरूले अरूलाई सार्ने सम्भावना पनि बढी छ ।
तर ती मानिस तुलनात्मक धेरै बिरामी भएको वा लामो समय अस्पतालमा बस्नु परेको प्रमाण भने पाइएन ।
सामान्यतया, धेरै सङ्क्रामक हुनुको अर्थ धेरै घातक हुनु होइन। वास्तवमा तिनको विपरीत सम्बन्ध हुने गर्छ ।
त्यसैले यो कोरोनाभाइरसको परिवर्तनले मानिसहरूलाई धेरै वा थोरै बिरामी गराइरहेको बारे प्रमाण छैन ।
यस्ता कुरा पत्ता लगाउन नियन्त्रित ट्रायल अध्ययन गर्न जरुरी हुन्छ ।
खोप विकासमा कस्तो असर ?
अहिले समग्रमा हेर्दा नयाँ परिवर्तित भाइरस नै जताततै पाइएको छ । अर्थात् कोरोनाभाइरसको D614G स्वरूप नै अहिले महामारीको कारक बनिरहेको छ।
के यसले हाल भइरहेको खोप विकासमा असर पार्ला तरु ढुक्क बनाउने विषय के छ भने प्रायस् वैज्ञानिकहरूले खोप विकास गर्ने क्रममा भाइरसको स्पाइकको अर्कै भागमा (न कि परिवर्तित देखिएको भागको) ध्यान दिइरहेका छन् ।
साथै परिवर्तित भाइरस पनि एन्टीबडीप्रति उत्तिकै सम्वेदनशील पाइएको छ । ती एन्टीबडीले या त खोपमार्फत् या त रोग लागेका कारण शरीरलाई प्रतिरोधी क्षमता दिलाउँछ ।
जेहोस् भाइरसको स्वरूपमा भइरहेको वा हुनसक्ने परिवर्तनप्रति भने वैज्ञानिकहरू चनाखो छन् ।
बिबिसी