विश्वमा कोरोना भाइरस संक्रमितको संख्याले राख्यो फेरी नयाँ रेकर्ड

काठमाडौं, ४ साउन । विश्वमा कोरोना भाइस संक्रमितको संख्याले फेरी नयाँ रेकर्ड राखेको छ ।
विश्व स्वास्थ्य संगठनले लगातार दोश्रो दिन आइतबार पनि विश्वमा कीर्तिमानी संख्यामा कोरोना भाइरस संक्रमित फेला परेको जनाएको हो ।
पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार ८ सय ४८ जना संक्रमित फेला परेपछि संक्रमित संख्यामा लगातार दोश्रो दिन नयाँ रेकर्ड कायम भएको रोयटर्समा प्रकाशित समाचारमा उल्लेख छ ।
शनिबारमात्र विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना संक्रमितको दैनिक वृद्धिमा नयाँ कीर्तिमान कायम भएको जनाएको थियो ।
शुक्रबार एकैदिन २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित फेला परेपछि विश्वको दैनिक संक्रमित संख्यामा नयाँ कीर्तिमान बनेको थियो ।
यसअघि यो कीर्तिमान जुलाई १२ मा कायम थियो । उक्त दिन १ लाख ३० हजार ३ सय ७० जना संक्रमित फेला परेका थिए ।
शनिबार थपिएका संक्रमितमध्ये धेरैजसो अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाबाट भएको संगठनले जनाएको छ ।
शनिबार कोरोनाबाट हुने मृत्यु पनि बढेको छ । यो दिन एकैदिन ७ हजार ३ सय ६० जनाको मृत्यु भएको छ । जुन संख्या मार्च १० यताकै उच्च रहेको संगठनको तथ्यांकमा उल्लेख छ ।
संगठनको तथ्यांकअनुसार कोरोनाबाट जुलाईमा प्रतिदिन औषत ४८ सय जनाको मृत्यु भएको र जुनमा त्यो संख्या प्रतिदिन ४६ सय रहेको छ ।
शुक्रबारसम्म विश्वमा कोरोना संक्रमित संख्याले १ करोड ४० लाखको आँकडा पार गरेको छ। झण्डै ६ लाख मानिसको मृत्यु भएको छ । पछिल्लो समय थपिएका १० लाख संक्रमित १ सय घण्टामा थपिएको तथ्यांकले देखाएको छ ।
विश्व स्वास्थ्य संगठनले शनिबार अमेरिकामा ७१ हजार ४ सय ८४, ब्राजिलमा ४५ हजार ४ सय दिन, भारतमा ३४ हजार ८ सय ८४ तथा दक्षिण अफ्रिकामा १३ हजार ३ सय ७३ जना संक्रमित फेला परेको आफ्नो तथ्यांक सार्वजनिक गरेको छ।