सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कर्मचारीद्वारा करोडौ रकम व्यक्तिगत खातामा



Download our app to get more features

धनगढी, ३ साउन । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कर्मचारीले सरकारी ढुकुटीमा रजाई गरेको देखिएको छ । 

करोडौ सरकारी रकम महिनौसम्म व्यक्तिगत खातामा राखेर कर्मचारीले लाभ लिएको देखिएको हो । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ७४ को उल्लंघन गर्दै स्वास्थ्य निर्देशनालयले पेस्कीमाथि पेस्की दिएको उल्लेख छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय, डोटीले कार्यालयमा कार्यरत १६ जना व्यक्तिलाई विभिन्न कार्यक्रम सञ्चालन गर्न पेस्की दिएकोमा पहिलो पेस्की फछ्र्यौट नहुँदै एकै कर्मचारीलाई १९ पटकसम्म पटकपटक गरी पेस्कीमाथि पेस्की दिएको प्रतिवेदनमा उल्लेख छ । 

‘न्यूनतम २० हजारदेखि एक करोड ७६ लाखसम्म एकै व्यक्तिलाई पेस्की दिई कार्यक्रम सञ्चालन गराएको अवस्था छ,’ वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘कार्यालयले उपलब्ध गराएको विवरण अनुसार १७ व्यक्तिलाई ८ करोड ९१ लाख ५१ हजार पेस्की दिएकोमा पुरै रकम खर्च हुन नसकी ४९ लाख ८२ हजार रकम फिर्ता भएको छ । पेस्कीमाथि पेस्की दिई वर्षको अन्तमा फाँटवारी पेश गरी पेस्की फछ्र्यौट गरेको छ ।’

पेस्की लिई लामो समयसम्म कार्यक्रम नगरी व्यक्तिको खातामा रकम रहने र पछि कार्यक्रम सञ्चालन गर्ने तथा आर्थिक वर्षको अन्त्यमा रकम फिर्ता गर्ने प्रवृतिले सरकारी रकमबाट कर्मचारीले लाभ लिने प्रवृत्तिमा नियन्त्रण गर्नुपर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts