कोरोना संक्रमणका कारण थप एकको मृत्यु, संक्रमणपछि निको हुनेको संख्या ११ हजार नाघ्यो

काठमाडौं, ३१ असार । नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक सय १६ जना गपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार एक सय ७७ पुगेको बताए ।
यस्तै ६ सय ९७ जना डिस्चार्ज भएको पनि उनले बताए । योसँगै नेपालमा कोरोनाका कारण निको हुनेको संख्या ११ हजार २५ पुगेको छ ।
प्रवक्ता डा गौतमका अनुसार कोरोना भाइरस संक्रमणका कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको परोहा नगरपालिका ७ का ३६ वर्षका पुरुष रहेका छन् । दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएको र उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका ती युवकमा स्वासप्रश्वासमा समस्या, रुघाखोकी र ज्वरो आएपछि भर्ना गरिएको थियो । उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।