स्यानिटाइजर दर्ताका लागि सरकारले म्याद थपेको विरोधमा एपोनको धर्ना

काठमाडौं, २९ असार । नेपाल औषधि उत्पादक संघले औषधि व्यवस्था विभागमा धर्ना दिएको छ ।
मन्त्रिस्तरिय निर्णयले स्यानिटाइजर दर्ताका लागि म्याद थप गरेको भन्दै धर्ना दिइएको संघका महासचिव विप्लब अधिकारीले बताए ।
२०७७ असार २२ गते स्यानिटाइजरको दर्ताको लागि थप ३ महिना समयावधि दिने निर्णयको विरोध गर्दै संघकाले सोमवार बिहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म दिइएको शान्तिपूर्ण धर्ना दिएको उनले बताए ।
संघका अनुसार दर्ता समय थपिनु भनेको बिना दर्ता र बिना गुणस्तर परीक्षण थप ३ महिना बजारमा स्यानिटाइजर बिक्रि गर्न दिनु हो र त्यसले जनताको स्वास्थ्य माथि खेलवाड हुनेछ ।
कोरोना भाइरसको संक्रमणको यो बेला गुणस्तरिय उत्पादन मात्र बजारमा पाउनु पर्नेमा सरकारको यो निर्णय गलत भएको उत्पादक संघको भनाइ छ । धर्ना कार्यक्रम सरकारको बिरोध स्वरुप नभइ सरकारलाई ध्यानाकर्षण स्वरुप गरिएको महासचिव अधिकारीले बताए ।
जनताले प्रयोग गर्ने स्यानिटाइजर गुणस्तरिय हुनु पर्छ भन्ने नै हाम्रो मुल माग रहेको हामी कुनैपनि हालतमा बिना दर्ता र गुणस्तर परीक्षणको कुनै पनि स्वास्थ्य सामाग्री बिक्रीको बिरोधमा नै रहने संघले जनाएको छ ।
नेपाली उत्पादकहरूले पुर्ण रुपमा गुणस्तरको सुनिश्चितता र दर्ता गरेर आफ्ना उत्पादन बजारमा बिक्रि गरिरहदा विदेशबाट आयात हुने कुनै पनि उत्पादन दर्ता नगरी बजारमा बिक्रि गर्न पाउने सरकारको यो निर्णयले नेपालि औषधि उद्योगलाई धरासायी बनाउन कुनै शक्ति लागिपरेको र राष्ट्रिय उद्योगहरुलाई जोगाउन संघ लगातार धर्ना र विरोधमा जाने बताइएको छ ।
नेपाली औषधि उद्योगीहरु धर्नामा बसेर यसरी विरोधमा उत्रेको भने यो इतिहास मै पहिलो पटक रहेको र यसमा नेपाल औषधि उत्पादक संघको तथा नेपाल आयुर्वेद उत्पादक संघले पनि ऐक्यवद्धता जनाएको छ ।