सुदूरपश्चिमका १४ सय १७ जना कोरोना संक्रमित डिस्चार्ज, ७९ जना मात्रै अस्पतालमा

धनगढी, २९ असार । सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहको आईसोलेसनबाट एक हजार चार सय १७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा आईतवार साँझ एक हजार चार सय १७ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।
प्रदेशमा आइतबार एकैदिन एक सय ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कञ्चनपुर, डडेल्धुरा र अछामबाट आईतबार एक सय ३४ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।
उनका अनुसार सबैभन्दा बढि डडेल्धुराका ७१ जना, अछामका ५२ जना र कञ्चनपुरका ११ जना संक्रमित डिस्चार्ज भएका हुन् । यो सँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या एक हजार चार सय १७ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सुदूरपश्चिममा अहिले सम्म तीन हजार नौँ सय २० जनामा कोरोना पुष्टि भएको छ। उनीहरु मध्ये ८ जनाको मृत्यु भईसकेको छ भने दुई हजार चार सय ४९ एक्टिभ केस रहेका छन् ।
उनीहरु मध्ये प्रदेशका विभिन्न अस्पतालमा ७९ जना संक्रमितको उपचार भईरहेको छ । टीकापुर अस्पतालमा सबैभन्दा बढि ३९ जना, महाकाली अस्पतालमा १८ जना, जिल्ला अस्पताल अछाममा १० जना, सेती प्रादेशिक अस्पतालमा ७ जना, मालाखेती अस्पतालमा तीन जना र जिल्ला अस्पताल डोटीमा दुई जनाको उपचार भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।