थप ५ वटा निजी प्रयोगशालालाई पिसिआर विधिबाट कोरोनाको नमूना परीक्षण गर्न अनुमति

काठमाडौं, २९ असार । सरकारले थप ५ वटा निजी प्रयोगशलालाई कोरोना परीक्षणका लागि अनुमति दिएको छ ।
काठमाडौँ उपत्यकाका ३ र उपत्यका बाहिरका दुई वटा गरि ५ वटा निजी प्रयोगशालाले अबदेखि कोरोना परीक्षण गर्न पाउने छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुसार मापदण्ड पुगेका काठमाडौंका सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याब (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ केयरले अनुमति पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुक सूचना अधिकारी राजेश कुमार गुप्ताले हाम्रो डाक्टर न्यूजलाई बताए ।
उनले उपत्यकाबाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याब र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि अब पिसिआर विधिबाट कोरोनाको नमूना परीक्षण गर्न पाउनेछन् ।
यसअघि नेपालमा पहिलो पटक ललितपुरको सानेपामा रहेको स्टार हस्पिटलले नमूना परीक्षणका लागि अनुमति पाइसकेको छ । सरकारले थप ५ वटा निजी प्रयोगशालालाई अनुमति दिएपछि अब ६ वटा निजी र २५ वटा सरकारी प्रयोगशालाबाट कोरोनाको पिसिआर विधिबाट नमूना परीक्षण हुनेछ ।
मन्त्रालयको मापदण्ड अनुसार अनुमति पाएका निजी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्रै परीक्षण गर्ने र विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउनेछन् ।