कोरोना भाइरसः काठमाण्डू उपत्यकामा तीन वर्गका सङ्क्रमित, समुदायमा फैलिसकेको छैन



Download our app to get more features

काठमाडौं, २४ असार । काठमाण्डू उपत्यकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले यस क्षेत्रमा विशेषतः तीन वर्गका सङ्क्रमित फेला परेको जनाएका छन् ।

लकडाउन खुकुलो भएपछि बजार तथा मन्दिरमा मानिसहरूको घुइँचो बढेको देखिन्छ ।

काठमाण्डू उपत्यकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले यस क्षेत्रमा विशेषतः तीन वर्गका सङ्क्रमित फेला परेको जनाएका छन् ।

उनीहरूले ती तीन वर्गका सङ्क्रमितलाई नै लक्षित गरेर अहिले थप सङ्क्रमितको पहिचान र परीक्षण कार्य अघि बढाइएको जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कतिपयले काठमाण्डू उपत्यकामा समुदायस्तरमा कोरोनाभाइरस फैलिएको भन्ने गरेको भए पनि त्यस्तो अवस्था आइनसकेको बताए। तर उनकाअनुसार त्यो स्थिति आउनसक्ने भएकाले सतर्क हुनुपर्छ ।

उनले भने, 'काठमाण्डूमा हामीले ट्राभल हिस्ट्री नभएकोमा सङ्क्रमण भेट्यौँ, तर समुदायमा गएर परीक्षण गर्दा ती व्यक्तिको सम्पर्कमा आएकाहरूमा पनि सङ्क्रमण भेटिएन ।'

त्यसले गर्दा अहिले स्थानीय स्तरमा सङ्क्रमण देखिएको छ। सामुदायिक तहमा प्रवेश गरिसकेको जस्तो देखिँदैन। तर एक न एक दिन त समुदायमा जान्छ नै । त्यसैले हामीले सतर्कता अपनाउनुपर्छ।

उनका अनुसार अहिले समुदायमा कोरोनाभाइरस सङ्क्रमणको स्थिति अध्ययन भइरहेको छ ।

तीन वर्गका सङ्क्रमित

डा. पाण्डेकाअनुसार अहिले उपत्यकामा विदेशबाट उद्धार गरेर ल्याइएका, सङ्क्रमण धेरै फैलिएका जिल्लाबाट आएका र स्थानीयस्तरका गरी तीन वर्गका सङ्क्रमित भेटिएका छन्।

अहिलेसम्म राजधानीमा फेला परेका सङ्क्रमितमध्ये न्यून सङ्ख्याका व्यक्तिले मात्र बाहिर यात्रा नगरेको वा बाहिरबाट आएका मानिससँग संसर्ग नगरेको देखिएको छ ।

उनले भने, 'अहिलेसम्म नेपालमा भेटिएका सङ्क्रमितमध्ये ९७ प्रतिशत आयातीत छन् र त्यसमा पनि पुरुष ९० प्रतिशत छन्। समुदायमा फैलिएको अवस्थामा महिलाहरू पनि उत्तिकै सङ्क्रमित हुनुपर्ने हो । त्यो देखिएको छैन ।'

उनले विदेशबाट उद्धार गरिएका नेपालीहरूमध्ये कतिले परीक्षण नगरी पनि आएको र कति बिरामीलाई पनि विमानमा ल्याइएकाले सँगै यात्रा गर्ने कतिपय पनि सङ्क्रमित देखिएको बताए।

त्यसैले अहिले होल्डिङ सेन्टर र क्वारन्टीनमा बढी केन्द्रीत भएर परीक्षणलाई तीव्रता दिइएको उनले बताए ।

परीक्षण
त्यस्तै उनले स्थानीय स्तरमा सङ्क्रमण भेटिएका क्षेत्रमा पनि परीक्षण अघि बढाइएको जानकारी दिए ।

उनकाअनुसार शनिवार नख्खु र तीनकुनेमा त्यस्तो परीक्षण गरिएको र आइतवार टोखामा गरिएको थियो ।

काठमाण्डूमा लकडाउन खुकुलो भएपछि सवारीसाधनको चाप बढेको छ ।

सोमवार शङ्खमूल, भक्तपुर र गङ्गालाल हृदयरोग केन्द्रमा त्यस्तै गरिएको र मङ्गलवार कपनमा टोली खटाइएको पाण्डेले जानकारी दिए ।

मन्त्रालयका अनुसार सोमवारसम्म उपत्यकाभित्रका एक दर्जनजति क्षेत्रमा सङ्क्रमितहरू भेटिएका छन् ।

सोमवारसम्म काठमाण्डू उपत्यकाभित्र कुल २३९ जना सङ्क्रमित फेला परेका छन् ।

त्यसमध्ये सबैभन्दा बढी काठमाण्डूमा १६१ जना तथा ललितपुर र भक्तपुरमा ३९/३९ जना भेटिएका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पनि उपत्यकामा समुदायमै फैलिसकेको अवस्था नरहेको बताए ।

उनले उपत्यकाभित्र सङ्क्रमण देखिएका क्षेत्रलाई दृष्टिगत गरेर त्यस क्षेत्रका बासिन्दाहरूको र्यान्डम स्याम्प्लिङ गरेर परीक्षण अघि बढाइएको जानकारी दिए ।

समुदायमा फैलिएको झिल्को, लक्षण नहुँदा यकिन गर्न समस्या

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनका अनुसार चाहिँ उपत्यकाभित्र समुदायमा फैलिएको जस्तो देखिने सङ्केतहरू आए पनि त्यसलाई पुष्टि गर्न चुनौती देखिएको छ ।

उनले भने, 'स्रोत नै थाहा नभएका सङ्क्रमण देखिएको अवस्थामा समुदायमा पुग्यो भन्ने झिल्को र सङ्केतहरू त देखिएका छन्। तर नेपालमा लक्षण नै नहुने खालेको कोरोनाभाइरस आएकाले यकिन गर्न समस्या भएको देखिन्छ। यो एउटा ठूलो चुनौतीका रूपमा रहेको छ ।'

नेपालमा सामान्य लक्षणहरूमा मानिसहरू अस्पतालसम्म नपुग्ने भएकाले पनि कहाँकहाँ सङ्क्रमण छ भन्ने पत्ता लगाउन गाह्रो हुने उनको तर्क छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक पाण्डेले चाहिँ लक्षण नभए पनि अहिले सङ्क्रमित देखिएका स्थानहरूमा नमुना सङ्कलन र परीक्षण गर्ने कार्य अघि बढाइएको जानकारी दिए ।

बिबिसी नेपाली

Last modified on 2020-07-08 07:23:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts