नेपालमा सुरु भयो भेन्टीलेटर बैंकको सेवा

नेपालमा भेन्टीलेटर बैंकको सेवा सुरु भएको छ । भेन्टीलेटर बैंकको “नेपाल भेन्टीलेटर सर्भिस” नामक परोपकारी संस्था स्थापना गरिएको हो ।
नेपाल भेन्टिलेटर सर्भिसको मुख्य उद्देश्य नेपालमा भेन्टिलेटर लगायतका सघन उपचारका उपकरणहरुको अभावमा कसैको ज्यान जोखिममा नपरोस् भन्ने रहेको छ ।
साथै दुरदराजका अस्पतालहरुसम्म स्वास्थ्य उपकरणहरु सुलभ र सहज रुपमा उपलब्ध गराउन सकियोस् भन्ने रहेको छ ।
परोपकारी संस्थाको रुपमा स्थापना गरिएको यो संस्थाले नेपालका सरकारी, सामुदायिक र निजी अस्पतालहरुमा भेन्टिलेटर लगायतका उपकरणहरु सर्वसुलभ रुपमा उपलब्ध गराउने बताएको छ ।
यो महामारीमा नेपाल सरकार संगको सहकार्यमा आवश्यक परेका स्थानहरु तथा फिल्ड हस्पिटलहरुमा यस संस्थाका भेन्टिलेटरहरु परिचालन गर्न सकिने गरी संस्थाले समन्वय गर्दै छ ।
उक्त संस्थाले एउटा कोष खडा गरी सो कोषमा जम्मा भएको रकमलाई भेन्टीलेटर खरिद गर्न, भेन्टीलेटरको मर्मत सम्भार गर्न खर्च गर्ने बताइएको छ ।
संस्थाको संस्थापना पूर्व नै यसले थालेको सार्वजनिक उपयोगिता, परोपकारी र कल्याणकारी कार्यको सरहाना गरी विभिन्न संघ, संस्था र व्यक्तिले भेन्टीलेटरहरु लगायत नगद सहयोग गरेका छन् । धेरैले सहयोग गर्ने प्रतिवद्धता जनाएको संस्थाको भनाइ छ ।
अहिले त्यस संस्थासँग कोभिड १९को लागि अति आवश्यक पर्ने मेकानिकल भेन्टीलेटरहरु सहित, हाइफ्लो न्याजल क्यनुला, बाइप्याप, लगायतका ३० वटा उपकरणहरु जम्मा भइसकेका छन् ।
कोभिड-१९ उपचारको लागि संसारभर अति प्रभावकारी देखिएको हाइफ्लो न्याजल क्यनुला नेपालमै पहिलो पटक यस संस्थाले उपलब्ध गराउने भएको छ।
थप उपकरणहरुको खरिद प्रक्रिया सुरु गरिसकेको कम्पनीले जानकारी गराएको छ।
संस्थाले आफ्नो कार्यालय स्थापना गर्नुका साथै आवश्यक अन्य प्रशासनिक कार्यहरु पनि सुचारु गरिसकेको छ ।
उक्त संस्थाले भविष्यमा तिनै तहका सरकारसँग समन्वय गरी नेपालमा भेन्टीलेटरको संचालन र व्यवस्थापन गर्ने उदेश्य राखेको छ ।