नेपालमा मास्क लगाउन अनिवार्य, नलगाउनेलाई कारबाही गरिने

काठमाडौं, २२ असार । नेपालमा मास्क लगाउन अनिवार्य गरिएको छ । गृह मन्त्रालयले सोमवार निर्देशन जारी गर्दै मास्क लगाउन सबैलाई अनिवार्य गरेको हो । मन्त्रालयले मास्क नलगाउनेलाई कारबाही गर्न पनि भनेको छ ।
गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यलय र प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै मास्क नलगाएर घरबाहिर निस्कनेलाई कारवाही गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले संक्रामक रोग ऐन—२०२० अनुसार महामारीको समयमा पालना गर्नुपर्ने नियम उल्लंघन गर्नेलाई कारवाही गर्नका लागि निर्देशन दिइएको हाम्रो डाक्टर न्यूजलाई बताए ।
उनले कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गर्नका लागि यस्तो सावधानी अपनाइएने पनि बताए ।
जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने र नियम उल्लघंन गर्नेलाई पक्राउ गर्न निर्देशनमा भनिएको छ ।