कोरोना संक्रमितको संख्या घट्दै, मृत्यु हुनेको संख्या ३५ पुग्यो

काठमाडौं, २२ असार । नेपालमा पछिल्लो समय कोरोना भाइरसका कारण संक्रमति हुनेको संख्यामा कमि आउँदै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो केहिदिन यता नेपालमा दैनिक कोरोना संक्रमितको संख्यामा कमि आएको हो । कोभिड १९ सम्बन्धी नियमित मिडिया ब्रिफिंगको क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा नेपालमा जम्मा १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
यसअघि नेपालमा आईतवार २ सय ९३ जनामा, शनिवार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनले यो संख्या दुई महिना यताकै कम भएको भन्दै पिसिआर जाँचको दायरा बढेसँगै संक्रमितको दरमा पनि कमि आएको बताए । नेपालमा थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको प्रवक्ता डा गौतमले जानकारी गराए ।
यस्तै पछिल्लो २४ घन्टामा २ सय ६४ जना कोरोना संक्रमित निको भएको र कोरोना संक्रमित निको हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको पनि उनले बताए । साथै थप एक जना संक्रमितको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको पनि उनले जानकारी गराए ।